समाचारबुधबार, भाद्र ६, २०६९
लोडसेडिङ दैनिक १२ घण्टामा सीमित गर्न प्रधानमन्त्रीको निर्देशन
६ भदौमा बालुवाटारमा उर्जा मन्त्रालय, विद्युत् प्राधिकरण र अर्थ मन्त्रालयका पदाधिकारीलाई बोलाएर भट्टराईले आगामी हिउँदमा लोडसेडिङ १२ घण्टामा सीतिम गर्न निर्देशन दिएका हुन् ।
‘भारतबाट थप विद्युत् आयात गरेर होस् वा थर्मल प्लान्ट नै चलाएर, जसरी पनि लोडसेडिङ सीमित गर्नुपर्छ’ प्रधानमन्त्रीको निर्देशन उदृत गर्दै उर्जा मन्त्रालयका सहसचिव अनुप उपाध्यायले बताए । तर विद्युत् प्राधिकरणले केहि दिन अघि मात्रै आगामी हिउँदमा दैनिक १९ घण्टाको लोडसेडिङ हुने प्रक्षेपण सार्वजनिक गरिसकेको छ ।
भट्टराईले निर्माणाधिन जलविद्युत् आयोजनालाई छिटो सकेर वा आयोजना मर्मत गरेर पनि लोडसेडिङ्ग कम गर्न निर्देशन दिएको सहसचिव उपाध्यायको बताए । भट्टराईले नियमित प्रक्रियाया भन्दा बाहिरबाटै भएपनि विद्युत् आयोजनालाई बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । तर प्राधिकरणका एक अधिकारीले प्रधानमन्त्रीले भनेजसरी दैनिक १२ घण्टामा लोडसेडिङ सीमित गर्न नसकिने दावी गरे ।
भारतबाट विद्युत् आयात गर्न प्रशारणलाईन क्षमतामा कमी, यो वर्ष भित्र थप विद्युत् उत्पादन नहुने, डिजेल प्लान्टको लागत थेग्न नसकिने लगायतका कारणले लोडसेडिङ १२ घण्टामा सीमित राख्न नसकिने ती अधिकारीको भनाई छ ।
