थप समाचारबिहीबार, चैत्र ६, २०७०
विपक्षीद्वारा संसद बैठक फेरि अवरुद्ध
सरकारले विपक्षीको माग अनुसार पेटोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन सहमत नभएपछि ६ चैतमा बसेको व्यवस्थापिका संसदको बैठकमा विपक्षीदलका सभासदहरु उभिएर सदनको कारबाही अबरुद्ध गरेका छन्।
सांसदहरु उभिएको अवस्थामा बैठकको कार्वाही अगाडि बढाउन नमिल्ने भन्दै सभामुखले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
बैठकमा शुरुमा बोल्दै प्रमुख विपक्षी एमाओवादीका नेता गिरीराजमणी पोख्रेलले सरकारले पेट«ोल लगायत जनताका अत्यावश्यक बस्तुमा मूल्य बृद्धि गरेकोले बैठक अवरुद्ध गर्नु परेको बताए ।
पोख्रेलले चिनिलगायत उपभोग्य वस्तुहरुको समेत मूल्य बढेको, विद्यार्थीहरुलाई पक्राउ गरिएको, सर्वसाधारण महंगीको मारमा परेको बेला सरकारले बेवास्ता गरेको आरोप लगाए ।
उनले यो कुरा आयल निगमको वा प्रधानमन्त्रीको मात्रै नभई सबैसँग जोडिएको विषय भएको बताए ।
पोख्रेलले पछिल्लो समयमा भएका सबै मूल्य बृद्धि फिर्ता गर्न सरकारसँग माग गर्दै त्यसो नहुँदा सम्म संसदको कारबाही अगाडि नबढाउन माग गरेका थिए ।
यसअघि ४ चैतमा बसेको ब्यवस्थापिका संसदको बैठक पनि विपक्षी दलहरुको विरोधका कारण स्थगित भएको थियो ।
