थप समाचारशुक्रबार, चैत्र ७, २०७०
एक महिनाभित्र राजदूत नियुक्त गरिने
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले एक महिनाभित्र राजदूत नियुक्ति गर्ने सोचका साथ गृहकार्य भइरहेको बताएका छन् ।
संयुक्त सरकार भएकाले सत्तारुढ दल र विपक्षी पार्टीहरूसँग पनि छलफल गरेर योग्य उम्मेदवारलाई राजदूत बनाउने सोचाइका साथ आफू क्रियाशील रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले एकमहिनाभित्रमा विदेशस्थित रिक्त नियोगमा नेपालको प्रतिनिधित्व गराउने गरी आन्तरिक गृहकार्य भइरहेको बताए ।
राजदूत भनेको जागिर खान जाने नभई बृहत्तर राष्ट्रिय हित, सम्बन्धित मुलुकमा रहेका नेपालीका समस्या समाधानमा गर्नसक्ने र नेपालको विकासका लागि स्रोत जुटाउनसक्ने ल्याकत भएका व्यक्ति हुनुपर्ने उनको भनाई छ । “अमेरिका र खाडी मुलुकमा राजदूत नियुक्तिका आधार पृथक हुन्छन्, देशअनुसार गर्नुपर्ने हुन्छ, काम र सम्बन्धको प्रकृति पनि फरक हुन्छ,” पाण्डेले भने ।
झण्डै तीनवर्षदेखि सबैभन्दा निकटको छिमेकी भारतमा राजदूत छैनन् भने थाइल्याण्ड राजदूतविहीन भएको पनि त्यति नै अवधि भइसकेको छ ।
अमेरिका, बेलायत, इजिप्ट, जर्मनी, ब्राजिल, क्यानाडा, श्रीलङ्का, कतार र कुवेतमा पनि राजदूत नियुक्त भएका छैनन् भने केही समयपछि दक्षिण अफ्रिका र फ्रान्सका लागि नेपाली राजदूतहरूको पदावधि समाप्त हुँदैछ । आगामी असारमा फ्रान्स र यही चैत २९ गते दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतको पदावधि पूरा हुँदैछ ।
सरकारले हालैमात्र ओमान र बहराइनमा कार्यबाहक राजदूतस्तरमा दूतावास स्थापना गरेको छ र त्यहाँ खटिएका उपसचिवहरूको सहसचिवमा बढुवा भएकाले उनीहरु पनि मन्त्रालय फर्कदै छन् ।
शताब्दीऔं पुरानो सम्बन्ध भएको भारतमा तीनवर्षदेखि राजदूत नियुक्त गर्न नसक्दा सकारात्मक सन्देश प्रवाह नभएको र कार्यबाहक राजदूतस्तरमा स्थापना भएका नियोगलाई राजदूतस्तरमा स्तरोन्नति गर्नु अपरिहार्य भएको चीनका लागि पूर्व राजदूत राजेश्वर आचार्य बताउँछन् ।
कार्यबाहकस्तरमा स्थापना गरिएका नियोगलाई त्यत्तिकै राख्दा आफूहरूसँगको सम्बन्धलाई कम महत्व दिएको महसुस सम्बन्धित मुलुकले गर्ने भएकाले यस्ता संवेदनशील विषयलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने उनको भनाई छ ।
शरच्चन्द्र भण्डारी, रासस
