समाचारशुक्रबार, चैत्र ७, २०७०
संविधानसभा नियमावली पारित
संविधानसभाको ७ चैतको बैठकमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले निर्णयार्थ प्रस्तुत गरेको संविधानसभा नियमावली– २०७० सम्बन्धी प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको छ । प्रस्ताव पारित भएसँगै संविधान लेखनको आधार तयार गरेको छ ।
त्यसअघि नियमावलीको मस्यौदामाथिको छलफलमा १९ सभासद्ले ८२ बुँदामा संशोधन प्रस्ताव पेस गरेका थिए । उनीहरुले ४६ नियमका प्रवाधानसँग सम्बन्धित रहेर संशोधन प्रस्ताव राखेकामा मस्यौदा समितिका अध्यक्ष लक्ष्मणलाल कर्णको जवाफपछि ९ सभासद्ले संशोधन प्रस्ताव फिर्ता लिएका थिए भने अन्य सभासद्का संशोधनको प्रस्तावलाई बहुमतले अस्वीकृत गरिएको थियो ।
प्रस्ताव पारित भएलगत्तै अध्यक्ष नेम्बाङले संविधान लेखनका लागि महत्वपूर्ण आधार तयार भएको भन्दै छिटोभन्दा छिटोभन्दा समिति गठन गरेर संविधान लेखनलाई गति दिन सभासद्लाई आग्रह गरे ।
संशोधन प्रस्ताव दर्ता गराउने सभासद्ले नियमावलीमा रहेका विभिन्न व्यवस्था छुट भएको भन्दै थप गर्न आग्रह गरेका थिए ।
संविधानसभाको अर्को बैठक १४ चैत बिहान ११ बजे बस्ने छ ।
रासस
