समाचारबिहीबार, भाद्र ७, २०६९
सेना समायोजन प्रक्रिया अगाडि बढाइने
पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईसहित पदाधिकारीको बैठकले एक–दुई दिनभित्रै सेना समायोजनको कामलाई अगाडि बढाउने निर्णय गरेको पूर्व जनमुक्ति सेना नेपालका प्रवक्ता चन्द्रप्रकाश खनालले जानकारी दिए ।
यसैगरी बैठकमा स्वैच्छिकअवकाशमा गएका जनमुक्ति सेनालाई कसरी व्यवस्थित गर्ने भन्ने सन्दर्भमा पनि छलफल भएको थियो । प्रवक्ता खनालले भने ‘पार्टीको महाधिवेशन पनि तोकिएको सन्दर्भमा जनमुक्ति सेनाका सदस्यहरुको व्यवस्थापन तथा उनीहरुको जिम्मेवारीका सन्दर्भमा पनि आजको बैठकमा छलफल भएको छ ।’
यसैगरी देशका विभिन्न शिविरहरुमा रहेका तीन हजार १२३ जना समायोजन रोजेका जनमुक्ति सेनालाई तत्काल समायोजनको प्रक्रियामा लैजानका लागि पनि सरकार र पार्टीका तर्फबाट विशेष पहल गर्ने निर्णय गरिएको प्रवक्ता खनालले जानकारी दिए ।
मन्त्रिपरिषद्को ७ भदौमा बसेको बैठकले सेना समायोजन विशेष समितिको म्याद तीन महिना थप गर्ने निर्णय गरेकाले सेना समायोजनको काम अगाडि बढ्ने विश्वास पलाएको प्रवक्ता खनालले जानकारी दिए । रासस
