थप समाचारशनिबार, चैत्र ८, २०७०
चीनको युनानका गभर्नर र मलेशियाका पूर्व प्रधानमन्त्री राजधानीमा
प्रधानमन्त्री सुशील कोइरालालाई ‘दोस्रो चीन दक्षिण एशिया व्यापार मेला’ मा आमन्त्रण गर्न चिनको युनानका गभर्नर ली झिहेङ नेपाल आएका छन् ।
चिनियाँ विशिष्ट अतिथिले परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्यसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मलेसियाका पूर्व प्रधानमन्त्री पनि आए
यसैबीच मलेसियाका भूतपूर्व प्रधानमन्त्री डा महाथीर मोहम्मद चारदिने भ्रमणका क्रममा ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आजै काठमाडौं आइपुगेका छन् ।
सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रूपमा भोलिदेखि काठमाडौंमा आयोजना गर्ने व्यापार सम्मेलनमा मुख्य वक्ताका रूपमा भाग लिन महाथिर मोहम्मद नेपाल आएका हुन् ।
पूर्व प्रधानमन्त्री मोहम्मद नेतृत्वको टोलीलाई परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनाली, महासङ्घका अध्यक्ष सुरज वैद्य, यहाँस्थित मलेसियाली दूतावासका वरिष्ठ अधिकारीका साथै उद्यमी व्यवसायीहरूले स्वागत गरेका थिए ।
राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री कोइरालासँग उनले छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

