समाचारशनिबार, चैत्र ८, २०७०

शिक्षासेवी लाहुरे रामकाजी

हिमालखबर

रामजी दाहाल

प्रायः नेपालीको बुढेसकाल तीर्थब्रत गर्दै वा नातिनातिना खेलाउँदै बितिरहेको हुन्छ । स्याङ्जाको आरुचौर–७ का रामकाजी गुरुङ (८८) भने बेलायतमा बसेर त्यहाँ आर्जन हुने रुपैयाँ जन्मथलोको उत्थानमा लगाइरहेका छन् ।

रामकाजी गुरुङ् ।

रु.४२ लाख खर्चेर उनले बनाइदिएको आरुचौरस्थित घन्टे देउराली उच्च माध्यमिक विद्यालयमा अहिले ५०० विद्यार्थी पढिरहेका छन् । “आफूले बनाएको स्कूलमा खचाखच विद्यार्थी देख्दा लाग्ने आनन्दको वर्णन शब्दमा गर्न सक्दिनँ”, माघ अन्तिम साता बेलायतबाट आएका गुरुङले भने ।

२०१० सालमा स्थापित घन्टे देउराली उमाविमा अहिले आरुचौर बाहेक छिमेकी पर्वतका फलामखानी र भगेराका समेत विद्यार्थी आउँछन् ।

गुरुङले विद्यालयको भौतिक पूर्वाधार मात्र होइन, पढाइको गुणस्तर सुधार्न र गरीब तथा जेहेन्दार विद्यार्थीलाई पढ्न सहज होस् भनेर रु.५ लाखको अक्षयकोष समेत स्थापना गरेका छन् । यो कोषबाट एक जना उत्कृष्ट विद्यार्थीले वार्षिक रु.२० हजार पाउँछन् भने एक जना छात्राले रु.५ हजार । विद्यालयमा कुनै छात्रा उत्कृष्ट भइन् भने उनैले रु.२५ हजार पाउँछिन् ।

शैक्षिक विकास विना देश विकास नहुने भएकोले आफूले कमाएको पैसा शिक्षामा लगानी गरेको गुरुङ बताउँछन् । निजी खर्चमा घोडेटोबाटो बनाएर समाजसेवा थालेका उनले पर्वतको फलामखानी निमावि र घण्टरी निमाविमा रु.१–१ लाखको अक्षयकोष खडा गरिसकेका छन् । उनी अन्य केही विद्यालयमा पनि रु.१० लाख जतिको अक्षयकोष स्थापना गर्ने तयारीमा छन् ।

सन् १९४८ मा ब्रिटिश–गोर्खामा भर्ती भएका गुरुङ नै घन्टे देउरालीमा छोरी पढाउने पहिलो अभिभावक पनि हुन् । छोरीलाई पहिलो पटक एसएलसी दिन गाउँ बाहिर पठाउँदा ‘यो बुढाले के गर्न खोजेको’ भन्दै गाउँलेले कुरा काटेको उनी सम्झ्न्छन् ।

त्यति मात्र होइन, पछिल्लो समय विद्यालय भवन बनाउँदा कतिपय गाउँलेले ‘तपाईंका छोराछोरी यहाँ पढ्दैनन्, बुढेसकालको रकम किन खर्च गर्नुहुन्छ’ भनेर सम्झउन खोजेको उनी बताउँछन् । “तर, मेरो सोचाइको किसिम फरक खालको थियो”, गुरुङ भन्छन्, “अनि धमाधम काम सकेर ८४ वर्ष पुगेको अवसरमा बेलायत र हङकङमा रहेका छोराछोरीलाई समेत बोलाएर विद्यालय भवन उद्घाटन गरें ।”

बुबाले गाउँको शिक्षामा गरेको सहयोगबाट छोराछोरी पनि खुशी छन् । काठमाडौंमा रहेकी छोरी कमला बुबाको कामले गर्दा आफूहरूलाई पनि समाजसेवामा लाग्न प्रेरणा मिलेको बताउँछिन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>