थप समाचारआइतबार, चैत्र ९, २०७०
राजधानीबासीको स्वास्थ्य जोखिममा
काठमाडौं उपत्यकामा ६ वर्षमा ४० प्रतिशतले वायु प्रदूषण बढेको छ। राजधानीमा पीएम-१० (नाकबाट पस्ने प्रदूषणको मात्रा) दक्षिण एसियाकै बढी छ।
उपत्यकामा राखिएका प्रदूषण मापनयन्त्रले प्रदूषणलाई नदेखिने तर डरलाग्दो समस्याका रूपमा पुष्टि गरेका छन्।
वायु प्रदूषणबारे अध्ययन गरिरहेका डा. महेश्वर रूपाखेतीका अनुसार काठमाडौंको प्रदूषण संसारमै धेरै छ। ‘सामान्य स्वास्थ्य चेतना भएका जोकोही पनि माक्स नलगाई सडकमा निस्कनै नसक्ने अवस्था छ’, उनले भने। उनका अनुसार वायु प्रदूषण नेपालको विकास लक्ष्य हासिल गर्नमा मुख्य बाधकसमेत हो।
सार्वजनिक बिदा तथा बन्दहड्तालका दिन प्रदूषणको मात्रा केही घटे पनि अन्य दिन पीएम-१० तीन सयभन्दा बढी हुन्छ।
यस्तो अवस्थामा विकसित देशले मानव स्वास्थ्य अत्यन्तै जोखिममा पर्ने निष्कर्ष निकाल्दै सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन सल्लाह दिन्छन्।
काठमाडौंमा विस्तार भइरहेका सडक, गाडी तथा औद्योगिक प्रतिष्ठानबाट निस्कने धुवाँ र धुलोले यहाँका बासिन्दालाई रोगी बनाउँदैछ। तर सरकार बेखबर छ।
गत वर्ष १० फागुनमा पुतलीसडकमा अहिलेसम्मकै बढी पीएम-१० को मात्रा ९७१ तथा ९ गते ८०९ थियो।
विज्ञका अनुसार यस्तो अवस्थामा घरबाहिर निस्कनसमेत हुँदैन।
ठमेलमा भने तुलनात्मक रूपमा कम प्रदूषण छ। बिदाका दिन पीएम-१० को मात्रा १५० भन्दा माथि कहिल्यै गएको छैन। कार्यालय खुलेका दिन तीन सयसम्म पुगेको छ।
गाडी धेरै नचल्ने भएकाले तुलनात्मक रूपमा सबैभन्दा कम प्रदूषण मच्छेगाउँमा छ।
बिदा र बन्दका दिन त्यहाँ पीएम-१० को मात्रा ४० देखि ६० भन्दा माथि गएको छैन। कार्यालय खुलेका दिनमा भने १५० सम्म छ।
त्यस्तै भक्तपुरमा कार्यालय खुलेका दिन पीएम-१० को मात्रा ३०० सम्म पुगेको छ भने अरू दिन १५० को हाराहारीमा छ।
दक्षिण एशियाका २२ मध्ये काठमाडौं र नयाँदिल्ली सबैभन्दा धेरै वायू प्रदूषण भएका शहर हुन्।
वायु प्रदूषणसम्बन्धी काम गरिरहेको नयाँदिल्लीस्थित सेन्टर फर साइन्स एन्ड इन्भाइरोमेन्ट (सीएसई) को अध्ययनले काठमाडौंमा अस्तव्यस्त बाटोमा थोत्रा गाडीको बढ्दो चाप नै प्रदूषणको मुख्य कारण ठहर्या एको छ।
वातावरण मन्त्रालयको तथ्यांकअनुसार नेपालमा बर्सेनि १ हजार ६०० भन्दा बढीको मृत्यु वायु प्रदूषणकै कारण हुने गरेको छ। काठमाडौंमा १५ लाख मानिसले श्वासप्रश्वाससम्बन्धी समस्या झेलिरहेका छन्।
विज्ञका अनुसार काठमाडौंमा वायु प्रदूषणका कारण घामबाट प्राप्त हुने तापसमेत कमजोर हुन्छ र बाक्लो हुस्सु लाग्छ।
विश्व ब्यांकले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले प्रदूषणका कारण स्वास्थ्य समस्यासँगै एसिड वर्षाको चेतावनी पनि दिएको छ।
राजधानीमा गुड्ने थोत्रा गाडी र अस्तव्यस्त सडक प्रदूषणका मुख्य कारण हुन्। वर्षौं पुराना गाडी धुवाँ उडाउँदै सडकमा खुलेआम गुड्दासमेत कारबाही गर्ने निकाय छैन।
कारबाही गर्ने जिम्मा पाएका ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालय एकअर्कालाई दोष लगाउँदै पन्छिरहेका छन्।
सरकारले थोत्रा र पुरानो मापदण्डमा प्रदूषण जाँच्दै धुवाँको मुस्लो उडाउने गाडीलाई पनि हरियो स्टिकर (प्रदूषणमुक्त प्रमाणपत्र) दिइरहेको छ।
सडकमा धुवाँ फाल्दै गुडिरहेका गाडीको साइलेन्सरमा प्रदूषण नाप्ने यन्त्र घुसाइन्छ तर त्यसले धुवाँ चिन्दैन।
२०५४ सालमा सरकारले बनाएको प्रदूषण मापदण्डकै आधारमा १४ वर्षसम्म प्रदूषण जाँच्दा सहरमा वायु प्रदूषणको अवस्था डरलाग्दो छ।
अन्नपूर्ण पोष्टबाट
