थप समाचारआइतबार, चैत्र ९, २०७०
एचआईभी संक्रमितद्वारा ‘आफ्नै खुराक’ उत्पादन
खाली पेटमा खान नहुने एचआईभी विरुद्धको औषधि एआरटी खानुअघिको खुराकका लागि अर्घाखाँचीका एचआईभी संक्रमित मिलेर ‘सर्वोत्तम पिठो उद्योग’ सञ्चालन गरेका छन् ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुबाट एआरटी खोनहरुलाई निःशुल्क रुपमा वितरण गरिंदै आएको पिठो दिइन छाडेपछि उनीहरुले नेपालभरकै एचआईभी संक्रमितहरुलाई लक्षित गरी सर्वोत्तम पिठो उद्योग स्थापना गरेका हुन् ।
“एचआईभी संक्रमितहरु मिलेर सर्वोत्तम पिठो उद्योग संचालन गरेका छौँ, अब पिठोको लागि सरकारको मुख ताक्नु पर्दैन,” सन्देश सहयोग समूह अर्घाखाँचीकी कोषाध्यक्ष पार्वता बन्जाडेले भनिन् ।
समूहले अर्घाखाँची जिल्लामा नै उत्पादित अन्न तथा गेडागुडी (भटमास, गहुँ, चना र मकै)बाट सर्वोत्तम पिठो उत्पादन गरिरहेको छ ।
सन्देश सहयोग समुह अर्घाखाँचीले जिल्ला विकास समिति अर्घाखाँची, जिल्ला एड्स समन्वय समिति र सक्रिय सेवा समाजको सहयोगमा ‘सर्वोत्तम पिठो उद्योग’ सञ्चालनमा ल्याएको हो ।
सन्धिखर्क-६ स्थित उद्योगले दैनिक १५० केजी उत्पादन गर्ने पिठो पाल्पा, रुपन्देही, कपिलवस्तु र स्याङजामा पनि वितरण हुने गरेको छ ।
प्रेमनारायण आचार्य, अर्घाखाँची


