समाचारसोमबार, चैत्र १०, २०७०
संविधानसभाले जारी गरेको संविधान मान्छौं: गुरुङ
नेकपा–माओवादीका सचिव गुरुङले अन्तर्वस्तुहरुमा सहमति भई संविधानसभाले जारी गरेको संविधान आफूहरुलाई मान्य हुने बताएका हुन् । रिपोर्टस् क्लबले १० चैतमा गरेको कार्यक्रममा उनले भने, “संविधानका अन्तर्वस्तुमा सहमति गरे संविधान कसरी जारी गर्ने भन्ने विषयमा छलफल गर्न हामी खुल्ला छौं ।”
सबै दलको प्रतिनिधित्व हुने गरी गोलमेच सम्मेलन गरेर सहमति हुने विषयमा सहमति गर्ने र सहमति नभएका विषयलाई कसरी टुंग्याएर संविधान जारी गर्ने भन्ने विषयमा स्पष्ट विधि बनाउन सकिने उनले धारणा राखे । तर, उनले अहिलेसम्म पनि संविधानसभामा रहेका दलले कुनै पहल नथालेको भन्दै गुनासो गरे ।
“अहिले संविधान नभएर समस्या आएको होइन, सहमति नभएर समस्या आएको हो,” उनले भने, “एउटा दलीय संयन्त्र बनाएर छलफल गरौं, सहमति गरौं, त्यसो गरे संविधान बन्छ ।”
एमाओवादीसँगको पार्टी एकताको विषयमा उनले पालुङटार बैठकको एजेण्डामा एमाओवादी जान तयार भए पार्टी एकता संभव भएको बताए । पार्टी सिंद्धान्तमा विवाद भएको कारण फुटेकोले सिद्धान्त र विचार मिले मात्रै पार्टी एकता हुने उनको भनाइ छ ।
कांग्रेस–एमाले संघीयताबाट भाग्न खोजेः सापकोटा
एमाओवादी नेता अग्नी सापकोटाले नेपाली कांग्रेस र नेकपा एमाले संघीयताबाट भाग्न खोजेको आरोप लगाएका छन् । कार्यक्रममा उनले संविधान बनाउने बेलामा कांग्रेस–एमालेले स्थानीय निकायको कुरा उठाएर संघीयताबाट भाग्न खोजेको आशंका उत्पन्न भएको टिप्पणी गरे ।
सरकारले संविधान निर्माणको बातावरण बनाउनु पर्नेमा मुल्यवृद्धि, संसदबाहिरबाट नीति तथा कार्यक्रम ल्याउने र स्थानीय निकायको निर्वाचन गर्ने कुरा गरिरहेको आरोप लगाउँदै उनले विगतमा सहमतिको स्वामित्व ग्रहण गर्ने विषयमा एमालेले ढिलाइ गरिरहेको बताए ।

