समाचारसोमबार, चैत्र १०, २०७०
सरकार चलाउन कांग्रेस–एमालेद्वारा समन्वय समिति गठन
सरकार संचालनको क्रममा आउने असमझदारीलाई समाधान गर्न कांग्रेस–एमालेले सरकार संचालन समन्वय समिति गठन गरेका हुन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा १० चैतमा बसेको दुई दलको संयुक्त बैठकले शीर्ष नेता सम्मिलित समिति गठन गरेको हो ।
समन्वय समितिमा कांग्रेसकातर्फबाट चार र एमालेकातर्फबाट चार जना रहेका छन् । समितिमा कांग्रेसबाट प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह छन् ।
एमालेकोतर्फबाट भने अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, केपी ओली र उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम छन् । समितिले सरकार संचालनको क्रममा आउने असमझदारीलाई समाधान गर्ने नेताहरुले बताएका छन् ।
कांग्रेस–एमाले बैठकले सविधानसभा तथा व्यवस्थापिका संसदका विभिन्न समिति गठनका लागि सहमति जुटाउन कार्यदल पनि गठन गरेको छ । कार्यदलमा दुवै दलका दुई–दुई जना प्रतिनिधि छन् ।
कार्यदलमा एमालेका विष्णु पौडेल र भीम आचार्य रहेका छन् भने कांग्रेसले नाम टुंगो लगाएको छैन ।
