समाचारमंगलबार, चैत्र ११, २०७०
६ महिनामै संविधान जारी गर्न सकिन्छ: नेता नेपाल
राजनीतिक दलहरुले चुनावअघि प्रतिबद्धता जनाए अनुसार एक वर्षभित्रै संबिधान जारी गर्न सकिने एमाले वरिष्ठ नेता माधवकुमार नेपालले दाबी गरेका छन् ।
धनुषाको ईनरुवामा आयोजना हुने पार्टी कार्यक्रममा सहभागी हुन ११ चैतमा जनकपुर आएका नेता नेपालले विमानस्थलमा सञ्चारकर्मीहरुसित कुरा गर्दै राज्य पुनर्संरचना र शासकीय स्वरुपको मुद्दालाई पछि निक्र्योल गर्ने गरी एकवर्षभित्र संबिधान जारी गर्न सकिने बताए ।
उनले संघीय राज्यहरुको नामांकन र नापनक्सा गर्न अझै चारवर्ष लाग्ने हुँदा स्थानीय निकायको निर्वाचन जरुरी रहेकोमा जोड दिए । स्थानीय निकाय कर्मचारीको भरमा छोड्दा भ्रष्टाचार बढेको भन्दै अषाढसम्ममा स्थानीय निर्वाचन हुनुपर्ने नेपालको भनाई छ ।
एमालेको आगामी महाधिवेशनबाट नयाँ नेतृत्व चयनका बारेमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले भने, “म पदको लागि मरिहत्ते गर्दैन, तर पार्टीले जिम्मेबारी दिए नेतृत्व लिन तयार छु ।”
इश्वरचन्द्र झा, जनकपुर
