थप समाचारबुधबार, चैत्र १२, २०७०
अवैध खानीले पहिरोको जोखिम
उत्तरी पर्वतको माझफाँट र बाँसखर्क गाविसमा १२ भन्दा बढी अवैध ढुंगाखानी संचालनमा आएका छन् । बाँसखर्क–१ र ८ तथा माझफाँट–९ मा निजी जमिन र सार्वजनिक चौर तथा वन क्षेत्रमा समेत अवैध ढुंगाखानी सञ्चालनमा आएका हुन् ।
बिना अनुमति संचालनमा रहेका ढुगाखानीका कारण भू–क्षय र पहिरोको जोखिम समेत बढेको छ । निजी जमिन र सार्वजनिक क्षेत्रमा सञ्चालित खानीहरुले कुनै पनि निकायबाट अनुमति लिएका छैनन् ।
खानी सञ्चालन गर्नका लागि खानी तथा भूगर्भ विभाग, वन कार्यालय, भूसंरक्षण कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधान छ । अहिलेसम्म सञ्चालित कुनै पनि खानीले अनुमति लिने र जिल्ला विकास समितिमा कर बुझाउने काम नगरेको जिविसका वन वातावरण अधिकृत तुलसीराम शर्माले बताए ।
अनुमति नलिइकन चलेका खानी बन्द गर्न पटकपटक ताकेता गर्दा समेत कुनै सुनुवाइ नगरी सञ्चालन भइरहेको उनको भनाइ छ । “कानुनी प्रक्रिया पूरा गर्ने र राजस्व बुझाउने गरी सञ्चालन गर्न धेरै पटक भनेका छौँ” उनले भने, “उल्टै अनुमति नलिइकन पर्यावरणीय जोखिम बढाएर खानी सञ्चालन भइरहेका छन् ।”
ढुङ्गा उत्खनन गर्न अनुमति नलिएका खानी सञ्चालकले ढुङ्गा कटिङ गर्नका लागि घरेलु तथा साना उद्योग विकास समितिबाट समेत अनुमति लिएका छैनन् । खानी उत्खनन गर्न अनुमति लिएपछि कटिङ गर्न कार्यालयले अनुमति दिने वरिष्ठ उद्योग अधिकृत शिवशंकर बानियाँले बताए । “खानी सञ्चालनको अनुमति नै नलिएका संस्थाले हामीसँग अनुमति लिने कुरै भएन” उनले भने, “सबै खानी बिनाअनुमति अवैध रुपमा सञ्चालनमा रहेका छन् ।”
बाँसखर्कमा धेरै खानी सार्वजनिक क्षेत्र र सामुदायिक वन क्षेत्रमा सञ्चालित रहेको स्थानीयवासीले बताएका छन् । माझफाँटमा भने निजी जमिनमा खानी सञ्चालक धेरै छन् । तीन महिना पहिलेदेखि माझफाँटमा खानी सञ्चालन गर्दै आएका तेजबहादुर खत्रीले निजी जमिनमा खानी सञ्चालन गर्न पाउनुपर्ने बताए ।
अवैध रुपमा वन क्षेत्र मासिँदै गएको छ भने पहिरोको जोखिमसमेत बढेको छ । भिरालो र पुरानो पहिरोमा खानी उत्खनन गरिएकाले त्यसले केही समयपछि पहिरोको रुप लिने र त्यसबाट प्रसिद्ध धार्मिकस्थल गलेश्वर र म्याग्दीको सदरमुकाम बेनीबजारसम्म असर पार्ने देखिएको जिविसका वन वातावरण अधिकृत तुलसीराम शर्माको भनाइ छ ।
रासस
