थप समाचारबुधबार, चैत्र १२, २०७०
८८ हजार भुटानी शरणार्थी तेस्रो मुलुक पुगे
झण्डै अढाइ दशकदेखि नेपालस्थित शिविरमा आश्रय लिइरहेका भुटानी शरणार्थीमध्ये ८८ हजारलाई अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) मार्फत अन्तर्राष्ट्रिय समुदायको सहयोगमा तेस्रो मुलुकमा पुनः स्थापना गरिएको छ ।
आइओएमले पुनःस्थापना कार्यक्रमअन्तर्गत विगत सात वर्षदेखि शरणार्थीलाई तेस्रो मुलुकमा पठाउँदै आएको छ । सबैभन्दा धेरै शरणार्थी लिने मुलुक अमेरिका हो । ८५ हजार छ सय ५१ जना भुटानी शरणार्थी उक्त देश पुगिसकेका छन् ।
गृह मन्त्रालयका अनुसार अष्ट्रेलियामा ४ हजार ८१९, क्यानाडामा ५ हजार ७७८, डेनमार्कमा ८५२, नेदरल्याण्डस्मा ३२६, नर्वेमा ५५० जना शरणार्थी पुनःस्थापित भइसकेका छन् । बाँकीलाई पनि क्रमशः पुनःस्थापित गर्ने प्रक्रियालाई आइओएमले जारी राखेको छ ।
शुरुमा १ लाखको हाराहारीमा रहेका शरणार्थीको सङ्ख्या दुई दशकको अवधिमा आठ हजारले वृद्धि भएको हो । नेपाल र भुटानबीच विभिन्न तहमा १५ चरणमा भएका शरणार्थी समस्या समाधानसम्बन्धी वार्ता असफल भएपछि अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायले मानवीयताका आधारमा आश्रयका निम्ति प्रयास गरेपछि तेस्रो मुलुक पुनः स्थापना कार्यक्रम कार्यान्वयन भएको हो ।
स्वस्फूर्तरुपमा उक्त कार्यक्रममा सहभागी भएका शरणार्थीमात्र ती देश गएका हुन् । शिविरमा रहेका अधिकांशले अझै पनि ससम्मान स्वदेश फर्कन पाउनुपर्ने माग दोहोर्याउँदै आएका छन् ।
वि.सं.२०६३ मा नेपाल आइओएमको सदस्य भएको हो ।
रासस

