समाचारबुधबार, चैत्र १२, २०७०

तीन दल बैठकः सहमति भएन

हिमालखबर

प्रधानमन्त्री निवास बालुवाटारमा १२ चैतमा बसेको प्रमुख तीन राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीको बैठकमा सहमति हुन नसकेपछि बैठक १३ चैतमा पुनः बस्ने भएको छ ।

बैठकमा शान्ति प्रक्रिया, संविधान निर्माण र सङ्क्रमणकालीन राजनीतिको व्यवस्थापनका सम्बन्धमा छलफल भएको जानकारी दिंदै नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भने, “विगतमा भएका सहमतिको कार्यान्वयनका लागि प्रमुख तीन दलबीच छलफल भयो । संविधान सभाको निर्वाचनमा एनेकपा माओवादीले उठाएको प्रश्न सम्बोधन गर्न र हालै भएको मूल्यवृद्धिका सम्बन्धमा अध्ययन गर्न संसदीय छानबिन समिति बनाउने सहमति भएको छ त्यसलाई भोलि बिहान ८ बजे बस्ने बैठकले टुङ्गो लगाउने छ ।”

बैठकमा तत्काल संविधान निर्माण कार्यलाई अघि बढाउन संविधानसभाका संसदीय समितिलाई पूर्णता दिने, संवैधानिक परिषद् गठन गर्ने र राजदूत नियुक्त गर्ने लगायतका विषयमा समेत छलफल भएको बताइएको छ ।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग निर्माण गर्ने सम्बन्धमा सहमति भइसकेको एमाओवादीका नेता पोष्टबहादुर बोगटीले बताए । उनले भने, “बाहिर आएका सम्पूर्ण विषयमा सकारात्मक छलफल भएको छ, समयको अभावले बाँकी रहेका विषयमा भोलि बस्ने बैठकले यी सबै विषयमा टुङ्गो लगाउने छ ।”

बैठकमा तीनै दलका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>