समाचारआइतबार, चैत्र १६, २०७०
म झुठको राजनीति गर्दिनः प्रधानमन्त्री कोइराला
नेपाल प्रेस युनियन, बाँकेद्वारा १६ चैतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री सुशील कोइरालाले भने, “म जनतासामु पूरा नहुने कुरा गरेर झुठको राजनीति गर्दिन, जे गर्न सक्छु पूर्ण इमान्दारितापूर्वक गर्छु, जनताको भावनासँग खेलबाड गर्ने अधिकार कसैसंँग पनि छैन ।”
निर्वाचनमा जनतासमक्ष गरिएका विकास निर्माणका बाँचा पूरा गर्न आफू दृढ सङ्कल्पका साथ लागिपर्ने भन्दै प्रधानमन्त्री कोइरालाले जनतालाई अल्मल्याउने, क्षणिक फाइदा पुग्ने ‘गफ’ होइन उनीहरुको जीवनस्तर सधैँका लागि सुखद बनाउने विकासको कार्यक्रम र कार्ययोजना सरकारबाट लागू हुने दाबी गरे ।
शान्ति, लोकतन्त्र र राष्ट्रिय एकता मुलुकको आर्थिक विकासको आधार बन्नुपर्नेमा जोड दिंदै उनले थपे, “हामीमा सकारात्मक सोचको विकास हुनुपर्छ, नकारात्मक चिन्तनले लक्ष्यमा पुग्न सकिँदैन ।”
उनले अब संविधान बन्दैन भनेर नकारात्मक प्रचा र चर्चा गरेर जनतालाई भ्रममा नपार्न आग्रह गर्दै सबै राजनीतिक दल परिपक्क भइसकेकाले सहमति निर्माण हुनेमा आफू ढुक्क रहेको बताए ।
प्रधानमन्त्री कोइरालाले रिक्त रहेका संवैधानिक अङ्गका पदाधिकारी, सदस्य र संविधानसभामा २६ जना सदस्य सरकारले एक साताभित्र मनोनित गरिसक्ने जानकारी दिए ।
स्थानीय निकाय निर्वाचनका लागि राजनीतिक दलबीच छलफल भइरहेको जानकारी गराउँदै प्रधानमन्त्री कोइरालाले सो निर्वाचनका लागि आवश्यक कानुन सरकारले निर्माण गर्ने पनि बताए ।
