समाचारआइतबार, भाद्र १०, २०६९
साउन महिनामा मात्रै १२ जना महिलाको हत्या
ओरेक नेपालले १० भदौमा एक तथ्यांक सार्वजनिक गर्दै साउन महिनामा मात्रै १२ जना महिलाको हत्या भएको जनाएको हो । तथ्यांकअनुसार ३ जना श्रीमान्बाट, ५ जना परिवारका सदस्यबाट, ३ जना नचिनेका मान्छेबाट र १ जना छिमेकीबाट महिलाको हत्या भएको छ । एक जना महिलाको भने हत्या प्रयास भएको ओरेक नेपालले दावी गरेको छ।
ओरेक नेपालकी कार्यक्रम संयोजक संजिता तिम्सिनाले साउन महिनामा ११४ जना महिलामाथि विभिन्न खालका हिंसा भएको जानकारी दिइन । यस्तै, ६१ जना महिलामाथि घरेलु हिंसा भएकोमा ५१ जना श्रीमान्बाटै पीडित भएको र ११ जना परिवारका सदस्यबाट पीडित भएको उल्लेख छ । यो अवधिमा ४ जना महिलामाथि बोक्सीको आरोपमा कुटपीट र एकजना महिलालाई मानसिक यातना दिइएको छ । साउन महिनामा १२ जना महिलालाई बलात्कार र २ जना महिलालाई यौनिक हिंसा गरिएको ओरेक नेपालको दावी छ ।
