समाचारमंगलबार, चैत्र १८, २०७०
उच्चस्तरीय समितिको नेतृत्व एमाओवादीले पाउँदैनः नेता नेपाल
१८ चैतमा प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले उच्चस्तरीय राजनीतिक परमार्श समितिको अध्यक्ष संविधानसभामा दलको उपस्थिति अनुसार कांग्रेस सभापति सुशील कोइराला हुने पर्ने बताएका छन् ।
भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै नेता नेपालले एमाओवादीले समितिको अध्यक्षमा दाबी गर्नु उचित नभएको बताए । उनले भने, “उच्चस्तरीय राजनीति परामर्श समितिको अध्यक्षको दाबी सर्वप्रथम प्रधानमन्त्रीले गर्नुपर्छ, त्यो नभए दोस्रो ठूलो दलको नाताले एमालेले पाउनुपर्छ, एमाओवादीको हुनुपर्छ भन्ने कुरा सम्भव छैन ।”
“स्थायी प्रकृतिको नभई आलोपालोका आधारमा हुने भएमा मात्र एमाओवादीले त्यसअनुसारको जिम्मेवार पाउन सक्छ,” उनले भने ।
प्रधानमन्त्री कोइरालासँगको भेटमा स्थानीय निकायको निर्वाचन, २६ सभासदको मनोनयन्, संविधानसभा मातहतका समिति र उच्चस्तरीय राजनीतिक परामर्श समितिको गठनलगायत विषयमा केन्द्रित रहेर छलफल भएको पनि उनले बताए ।
नेता नेपाल नेकपा एमालेका तर्फबाट निर्वाचित काठमाडौं र सिन्धुपलाञ्चोकका सभासद् र स्थानीय अगुवाहरुको नेतृत्व गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेका थिए ।
नेता नेपालले साँखुदेखि नाङ्लेभारे, लप्सीफेदी हुँदै चौतारा बलेफी मार्ग कोदारी राजमार्गको विकल्पसमेत हुने भएकाले त्यसलाई आगामी बजेटमा प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बारेमा पनि छलफल गरेका थिए ।
