समाचारबुधबार, चैत्र १९, २०७०
तलब सुविधा त्रिविको, सेवा अर्कैको
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष गुणनिधि न्यौपानेको संयोजकत्वमा गठित अनुगमन समितिले विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पस एवम् अनुसन्धान केन्द्रका १०४ जना प्राध्यापकहरुले बिना अनुमति निजी शैक्षिक संस्थामा पढाउने गरेको पाइएकोले स्पष्टीकरण माग गरेको छ ।
समितिका सदस्यसचिव विष्णुकुमार मादेनले विश्वविद्यालयको नियमअनुसार विश्वविद्यालयको सेवा सुविधा लिएका प्राध्यापकले विश्वविद्यालयको बिना पूर्व स्वीकृति निजी शैक्षिक संस्थामा पठनपाठन गर्न नहुने उल्लेख भए पनि अनुगमनका क्रममा १०४ जना प्राध्यापकहरु पूर्व स्वीकृतिबिना नै निजी शैक्षिक संस्थामा पढाइरहेको भेटिएको जानकारी दिए ।
अनुगमनबाट सङ्कलित नामावलीहरु त्रिवि कार्यकारी परिषद्मा समितिले पेस गरेकोमा त्यसअनुरुप त्रिवि सामान्य प्रशासन महाशाखाले अनुसन्धानको प्रक्रिया अघि बढाइसकेको छ ।
महाशाखाका प्रमुख भोला ढकालका अनुसार अनुगमन समितिबाट सिफारिस भएका १०४ जना प्राध्यापकसँग विश्वविद्यालयले स्पष्टीकरण मागेको छ ।
स्पष्टीकरणका आधारमा आवश्यक कारबाहीबारे विश्वविद्यालयले निर्णय लिने उनले जानकारी दिए ।
