समाचारबिहीबार, चैत्र २०, २०७०
जनकपुरमा चौथो दिन पनि सवारी साधन बन्द
महोत्तरी यातायात व्यवसायी संघको दर्ता खारेज गर्नुपर्ने, महोत्तरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियालाई कारबाही गर्नुपर्नेलगायतका माग राखी बस व्यवसायीहरुले १७ चैतदेखि जनकपुर अञ्चलबाट छुट्ने भाडाका सबै सवारी साधन बन्द गरेका छन् ।
केही बस व्यवसायीले महोत्तरीको गौशालामा प्रधान कार्यालय रहने गरी बस व्यवसायी संघ दर्ता गरेपछि जनकपुर अञ्चल बस व्यवसायी सङ्घ सङ्घर्षमा उत्रेको हो । बन्दका कारण जनकपुर, जलेश्वर मटिहानी र सम्सी सडकखण्डमा सार्वजनिक यातायात सेवा अवरुद्ध रहेका छन् ।
सार्वजनिक यातायात बन्द भएपछि सर्वसाधारणलाई आवतजावत, सरसामान ढुवानीमा समस्या भएको छ । यातायात ठप्प भएपछि जनकपुर नगर क्षेत्रमा मानिसको उपस्थिति पातलिएको छ । सरकारी कार्यालयहरुमा समेत भिड घटेको छ ।
जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अध्यक्ष मनोजकुमार चौधरीले गैरकानुनी ढङ्गमा महोत्तरी सङ्घ दर्ता गरिएको दाबी गर्दै आन्दोलनमा उत्रेको बताए ।
महोत्तरी यातायात बस व्यवसायी सङ्घले भने एकाधिकार र सिन्डिकेट तोडिने डरले यातायात व्यवसायी सङ्घ जनकपुर आन्दोलनमा उत्रेको आरोप लगाएको छ ।
