थप समाचारशुक्रबार, चैत्र २१, २०७०
युद्ध अपराधः पीडाले निसास्सिएका वोस्नियाली महिला
स्टुअर्ट ह्यूज
बोस्नियाको नाम त्यहाँ बग्ने बोसना नदीबाट बनेको हो । यो नदी उत्तरतर्फ बग्दै जेनिका शहरको मध्यभाग हुँदै अघि बढ्छ ।
नदी किनारमा रहेको स्टिलको विशाल कारखानाको चिम्नीबाट निस्कने कालो धुवाँ वरपर फैलिरहेको हुन्छ ।
यस्तै एउटा कारखानाको अगाडि बनेको महिला शरणार्थी शिविरमा बस्ने लैलाले आफ्नो कथा सुनाउँछिन् । भन्छिन, “त्यसबेला म १४ वर्षकी थिएँ र हजुरआमासँगै बस्थें ।”
उनले भनिन, “मलाई जवरजस्ती जेलमा हालियो । तीन वर्ष जेलमा विताएँ, त्यहाँ शारीरिक श्रम गराइन्थ्यो । केही दिनपछि मलाई अन्य तीन महिलासँगै एउटा बेग्लै घरमा लगियो ।”
“सैनिकहरु रक्सी खाएर हामीसँग दासजस्तै ब्यवहार गर्थे, रक्सीको नशाले मात्तिएका उनीहरुले हाम्रो बलात्कार गर्थे,” लैलाले भनिन्,
चुप रहनु नै ठिक
बोस्निया युद्धका बेला लैलाजस्ता यौन यातना भोग्ने महिलाहरुको अनुमानित संख्या २० देखि ५० हजारसम्म छ ।
वास्तविक संख्या शायद कहिल्यै पत्ता लाग्ने छैन, किनकी धेरै महिलाहरु चुपचाप बस्नु नै ठिक ठान्छन् । उनीहरुलाई समाजिक तिरस्कार ब्यहोर्नुपर्र्नेे डर छ ।
‘विमन्स इन्टरनेशनल लिग फर पिस एन्ड फ्रिडम’की नेला पोरोबीचका अनुसार समय वित्दै जाँदा बोस्निया युद्धमा यातना भोगेका महिलाहरु आफ्नो विगत सुनाउन सहज अनुभव गर्दैनन् ।
उनले भनिन्, “यौन हिंसाका शिकार भएका महिलाहरु र उनीहरुसँग काम गरिरहेका मानिसहरुसँग कुरा गर्दा थाहा हुन्छ, युद्धका बेला र त्यसलगत्तै यौन हिंसाका बारेमा कुरा गर्नु जति सजिलो थियो आज २० वर्षपछि त्यती सजिलो छैन ।
“यी वर्षहरुमा समाज धेरै अघि बढिसकेको छ । मानिसहरु पुराना कुरा सम्झन चाहँदैनन् तर, पीडित महिलाहरुलाई आफ्नो अतित विर्सन सजिलो छैन, ” उनी भन्छिन् ।
अनुसन्धानकर्ताहरुका अनुसार बोस्निया युद्धका बेला सन् १९९२ देखि १९९५ सम्म मानिसहरुमाथि अनैकौं अत्याचार भए । जातीय नरसंहार र यन्त्रणाजस्ता कहालीलाग्दा अपराधका अगाडि यौन उत्पीडनलाई कम आंकलन गरियो ।
अनेकौं अप्ठ्यारा
आफ्ना लागि न्याय माग्नेहरुका लागि बाटोमा अनेकौं अप्ठ्याराहरु छन् ।
अदालतहरु युद्ध अपराधसँग सम्बन्धित १३०० मुद्दा छिन्ने प्रयासमा लागेका छन् । निकै गम्भीर र उच्च अधिकारी संलग्न मुद्दाहरुलाई प्राथमिकतामा राखिएको छ । यी अदालतहरुमा साक्षीलाई पूर्ण सुरक्षा प्रदान गरिएको छ र उनीहरुको नाम गोप्य राखिन्छ ।
सैनिकहरु संलग्न बलात्कारका मुद्दा तल्लो अदालतमा पठाइन्छ जहाँ साक्षीलाई कुनै सुरक्षा छैन र पीडितहरुलाई अभियुक्तका अगाडि नै प्रमाण पेश गर्न भनिन्छ ।
बोस्निया युद्धका बेला भएका यौन हिंसाका घटनामा अहिलेसम्म ७० भन्दा कम घटनाहरुमा मात्रै मुद्दा चलाइएको छ ।
महिलाहरुका लागि चलिरहेको परियोजना ‘मेडिका जेनिका’ का निर्देशक साबिहा हुसिकले भनिन्, “बलात्कार पीडितहरुलाई उनीहरुका कुरामा कसैले विश्वास गर्दैनन् जस्तो लाग्छ ।”
युद्धका बेला महिलाहरु मात्रै होइन पुरुषहरुले पनि यौन उत्पीडनको सामना गर्नु परेको थियो । उनीहरुलाई बेइज्जत गर्न यसो गरिन्थ्यो ।
बेहोश हुँदासम्म कुटाई
बोस्नियाका पूर्व सैनिक जिनिया आफ्नो भोगाई सुनाउँदा अत्तालिन्छन् । उनी भन्छन, “सेनाले मलाई पक्राउ गरेर भूमिगत कोठामा लग्यो र उनीहरुले बेहोश नहोउन्जेल कुटे । होस आउँदा एकजना अधिकारी धारिलो चक्कुले मेरा लुगा च्यातिरहेको थियो त्यसपछि उसले गुप्तांगमा जोडदार मुक्का हान्यो । उनीहरुले म अत्यधिक रक्तश्रावबाट मर्छु भन्ने सोचेको हुनुपर्छ । ”
“हात खुट्टा गुमाइयो भने त त्यो देखिन्छ तर, आत्मा रोएको कस्ले देख्ने,” उनी प्रश्न गर्छन् । “बाहिरबाट हेर्दा म बलियो देखिन्छु तर भित्रभित्रै जर्जर भइसकेको छु ।”
बेलायतका विदेशमन्त्री विलियम हेग र हलिउड अभिनेत्री एवम् संयुक्त राष्ट्र संघको शरणर्थी सम्बन्धी संस्था यूएनएचआरसीकी विशेष दूत एञ्जेलिना जोली युद्धका बेला हुने यौन हिंसाका मुद्दाबारे जुनमा बेलायतमा हुने सम्मेलनलाई सम्बोधन गर्दैछन् ।
बोस्नियामाथि फ़िल्म
दुई वर्षअघि बोस्निया युद्धमा आधारित एञ्जेलिना जोलीको फ़िल्म द ‘ल्याण्ड अफ़ ब्लड एण्ड हनी’ हेरेपछि वेलायती विदेशमन्त्री हेग पनि जोलीको अभियानमा सहभागी भएका छन् । हेग जोलीसँगै पछिल्लो हप्ता बोस्निया भ्रमणमा आएका थिए । उनीहरुले जुनमा हुने सम्मेलनमा पीडितहरुको आवाज विश्वलाई सुनाउने वाचा गरेका छन् ।
भविष्यमा प्रमाण जुटाउँदै धेरै भन्दा धेरै पीडकहरुमाथि मुद्दा चलाउन सकिने सम्भावना त बाँकी नै छ तर, धेरै पीडितहरु अब धेरै ढिलो भइसकेकाले न्याय पाउने आशा नरहेको बताउँछन् ।
यौन शोषण पीडित एडिना भन्छिन, “ममाथि यौन शोषण गर्नेहरु अब कानूनभन्दा टाढा गइसकेका छन्, उनीहरुमध्ये धेरैको प्रोफाइल मैले फेसबुकमा देखेकी छु र उनीहरु स्वच्छन्द घुमिरहेका छन् ।”
एडिनालाई बोस्निया सरकारप्रति आक्रोश छ । उनले भनिन, “कानूनी कार्वाहीको काम निकै सुस्त गतिमा छ, विगत १० वर्षमा मात्रै धेरै महिलाहरु न्याय पाउने आशा गर्दागर्दै मरिसके ।”
बोस्निया युद्ध
सन १९९२ मा गृहयुद्ध शुरु भएको बोस्निया दोस्रो विश्वयुद्धपछिको एकमात्र यस्तो देश हो जहाँ भएको गृहयुद्धमा दुई लाख भन्दा बढीको मृत्यु भएको थियो भने लाखौं घरबार विहिन भएका थिए ।
बोस्निया, सर्बिया र क्रोएशियाका नेताहरुले सन् १९९५ मा पेरिसमा डेटन सन्धीमा हस्ताक्षर गर्दै तीन वर्षदेखि जारी बाल्कन युद्ध समाप्त भएको घोषणा गरेका थिए ।
बोस्नियामा सर्व, क्रोएशियाली र मुसलमान नागरिकबीचको जातीय अलगावले युद्ध निम्त्याएको थियो र उनीहरुबीच तुष अझै पनि देखिन्छ ।
