समाचारशुक्रबार, चैत्र २१, २०७०
काठमाडौंमा गान्धी कथावाचन
भीमसेनगोलास्थित आनन्द इभेन्टमा २२ चैतदेखि हुने कथाबाचनको प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशिल कोइरालाले उदघाटन गर्दैछन् । कथाबाचन हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ । कथाबाचन २६ चैतसम्म चल्नेछ ।
सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गान्धी कथावाचनका लागि २० चैतमा काठमाडौं आएका गान्धीका शिष्य एवं गुजरात विद्यापीठका कुलपति नारायणभाइ महादेवभाइ देसाईले आफूहरु गान्धीको सन्देश प्रवाह गर्न नेपाल आएको बताए ।
स्वागतका लागि त्रिभुवन बिमानस्थल पुगेका कथावाचन मूल आयोजक समितिका संयोजक एवं भौतिक पूर्बाधार तथा यातायात व्यवस्थामन्त्री बिमलेन्द्र निधीलाई देसाइले गान्धीको नेपालसंगको सम्बन्ध स्मरण गराउँदै वीपी कोइरालालाई आफूले बनारसमा भेटेको प्रसंग उल्लेख गरेका थिए ।
गान्धी कथाबाचनका लागि अहिंसासम्बन्धी पाँच गीत लेखेको बताउँदै देसाईले त्यसलाई प्रस्तुत गरिने बताए । उनले गान्धी कथा संगीतमय हुने जानकारी समेत गराए ।
महेन्द्र नारायण स्मृति प्रतिष्ठानका अध्यक्ष एवं गान्धी कथाबाचन मूल आयोजक समितिका सहसंयोजक पुरुषोत्तम दाहालले नेपालको सन्दर्भमा गान्धीको सान्दर्भिकता तथा नेपालमा अहिंसाको संस्कार कसरी शुरु गर्न सकिन्छ भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए ।
कथाबाचनमा सबै दलका नेताहरुलाई आमन्त्रण गरिएको बताउँदै दाहालले भने “गान्धीको दर्शन मन पराउने हजारौं स्रोता सहभागी हुने अपेक्षा गरेका छौं ।” उनका अनुसार गान्धी कथाबाचनको समापन २६ चैतमा कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले गर्नेछन् ।
