समाचारमंगलबार, भाद्र १२, २०६९
आवेगमा पद त्याग्दिनँ: प्रधानमन्त्री
प्रधानमन्त्री भएको एक वर्षपुगेको भोलिपल्ट १२ असारमा देशवासीको नाममा सम्बोधन गर्दै भट्टराईले सरकारको इमानदार प्रयासले गर्दा जटिल परिस्थितिमा पनि राहत दिन सफल भएको बताए । नगर विकास, सडक विस्तार, बजार अनुगमन, ट्राफिक व्यवस्थापन, भ्रष्टाचार नियन्त्रण, तत्काल राहत, सीमा सुरक्षा, शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन जस्ता विषयमा सरकारले सफलता हासिल गरेको उनको भनाइ छ ।
सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको हलबाट ७८ पृष्ठ लामो लिखित सम्बोधन गरेका प्रधानमन्त्री भट्टर्राईले आफू गोरखाको खोपलाङ गाउँमा भएको महिला र दलितमाथिको विभेद सहन नसकेर राजनीतिमा आएको उल्लेख गरे । बेथिति र अन्यायमा आफू दर्शक र साक्षी मात्रै भएर बस्न नसक्ने उनको भनाइ छ ।
प्रतिपक्षी दलतर्फलक्षित गर्दै प्रधानमन्त्री भट्टराईले सिसाको घरमा बस्नेले अरूतिर ढुंगा हान्न नहुने उखान स्मरण गरे । उनले अग्रगामी निकासका लागि दलहरूबीच सहमतिको विकल्प नभएको बताए । भट्टराईले संविधानसभाबाटै जातीय, क्षेत्रीय पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान जारी गर्नु नै एक मात्र विकल्प भएको धारणा राखे । ‘
अध्यादेश ल्याउनु सरकारको बाध्यता भएको तर सरकार अध्यादेशबाटै मुलुक चलाउन चाहन्छ भन्नु गलत अफवाह भएको उनले सम्बोधनमा उल्लेख गरे । भट्टराईले अनन्तकालसम्म प्रधानमन्त्री बन्ने चाहना नभएको तर अर्को वैधानिक सरकार गठन नभएसम्म आवेगमा पदबाट बिदा लिएर नजाने बताए ।
