समाचारशुक्रबार, चैत्र २१, २०७०
८ माघ २०७१ मा नयाँ संविधान !
गत ८ माघमा संविधानसभाको पहिलो बैठक बसेको थियो । कार्यतालिकामा पारित संविधानको प्रमाणीकरण प्रति तयार गरी सदस्यले हस्ताक्षर गर्ने र अध्यक्षले विधेयक प्रमाणित गर्ने तथा राष्ट्रपतिद्वारा संविधानको दस्तावेज(प्रति)मा हस्ताक्षर गरी नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्ने समयावधि ८ माघ २०७१ सम्मलाई तोकिएको छ ।
यसअघि प्रस्तुत कार्यतालिकामा भने उक्त कार्य २०७१ माघसम्म पूरा गर्ने समयावधि तोकिएको थियो । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सो कार्यतालिकालाई निर्णयार्थ सभामा प्रस्तुत गर्दा बैठकले बहुमतले स्वीकृत गरेको हो ।
संविधान निर्माणको कार्यलाई तीव्रता दिन समितिको सभापतिको निर्वाचन आगामी १५ वैशाखसम्म गर्ने र जेठको दोस्रो हप्तासम्म अघिल्लो संविधानसभाले गरेका सहमतिका विषयमा तथा भदौको मसान्तसम्म संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले राजनीतिक दलबीच सहमति जुटाउनेलगायत काम गर्नेछ । संविधान निर्माणसँग सम्बन्धित स्रोत सामग्रीको व्यवस्थापन तथा सहमति भएका विषयको मस्यौदाका काम भने निरन्तर जारी रहने कार्यतालिकामा उल्लेख छ ।
कार्यतालिका अनुसार असोज मसान्तसम्म संविधानको पहिलो मस्यौदालाई अन्तिम रुप दिई जनताको रायका लागि राजपत्रमा प्रकाशन हुनेछ भने नागरिक सम्बन्ध संविधान सुझाव समितिले संविधानको पहिलो मस्यौदामाथि जनताको राय सुझाव लिने अन्तिम समय सीमा तोकी कार्ययोजना तयार गर्ने छ ।
सोही समयभित्र पूर्ण बैठकमा भएको छलफल र सुझावका आधारमा संविधान मस्यौदा समितिले पहिलो मस्यौदालाई अन्तिम रुप दिइनेछ ।
कार्यतालिकामा उल्लेखित कार्यको सहमतिका लागि निश्चित समय उपलब्ध गराइने र सो अवधिभित्र सहमति कायम हुन नसकेमा कार्यव्यवस्था परामर्श समितिको परामर्शमा नियमावलीबमोजिमको प्रक्रियामा लैजाने पनि कार्यतालिकाका सन्दर्भमा उल्लेख गरिएको छ ।
कात्तिक मसान्तसम्म संविधानको पहिलो मस्यौदामाथि गोष्ठी– अन्तक्र्रिया गराइने, जुनसुकै माध्यमबाट आएका सुझाव सङ्कलन गरिने र जनताका राय सुझाव लिने काम सकिने कार्यतालिकामा उल्लेख छ ।
त्यसैगरी मंसीर मसान्तसम्म जनताको राय सुझावसम्बन्धी विस्तृत प्रतिवेदन तयार गरी सभामा पेस गरी पूर्ण बैठकमा छलफल गरिनेछ ।
आगामी पुस मसान्तसम्म संविधानको पहिलो मस्यौदा जनताको रायबमोजिम परिमार्जन गरी विधेयक सभामा पेस गरिने, विधेयकको प्रति सबै सभासद्लाई वितरण गरी सभामा छलफल गरिने, संशोधन राख्न म्याद दिइने, दफावार छलफल गरिने र संविधानका सबै धारा, प्रस्तावना र नामसहित सम्पूर्ण भाग सभाबाट पारित गरिने कार्ययोजना छ ।
कार्यतालिकामा सभासद्ले छलपल गरेपछि पारित गर्नका लागि बैठकमा राख्ने क्रममा सभाध्यक्ष नेम्वाङले सभासद्ले दिएको सुझाव र राय कार्यतालिका कडाइका साथ कार्यान्वयन गर्न महत्वपूर्ण भएको बताए ।
उनले भने, “आउँदो माघ ८ गतेभित्र संविधान जारी गर्छौ भन्ने सङ्कल्प र सन्देश यो कार्यतालिकाले दिएको छ, निश्चित समयमा सहमतिमा सबै विषयलाई टुङ्गोमा पुर्याइने छ, कथंकदाचित नभए प्रक्रियामा लगेर काम सकिनेछ ।”
संविधानसभाको अर्काे बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ ।
रासस
