थप समाचारशनिबार, चैत्र २२, २०७०

चार वर्षे राजाकी कस्ती होलिन् दुलही !

हिमालखबर

चन्द्रनिगाहपुर बजारमा बस्दै आएका कैलाश मल्लिक (डोम) का छोरा राजा मल्लिक साढे तीन वर्षका छन्। विवाहका लागि राजालाई छोरी दिन तीन ठाउँबाट कुटुम्ब आइसकेका छन्। तर बालक राजाका ५० वर्षीय बुबा कैलाश मल्लिक भने आउँदो मंसिरमा छोरा चार वर्ष कटेपछि मात्रै विवाह गर्ने अडानमा छन्। उनी तिलकस्वरूप ५० हजार लिने योजनामा छन्।

साढै तीन बर्षीय राजा मल्लिक बाबु कैलाशको साथमा

छोराको विवाह गरिदिने योजना बनाउँदै गरेका कैलाशको सानै उमेरमा विवाह भएको हो। आफ्नो विवाहका बारेमा आफूलाई केही सम्झना नरहेको बताउँछन् उनी। उनका तीन छोरीको सानै उमेरमा विवाह भइसकेको छ। तीन वर्षअघि उनले ७ वर्षीया छोरी शिलाकुमारीको विवाह बारास्थित गन्जभवानीपुरका एक बालकसँग गरिदिएका छन्।

शिला माइतमै बस्दै आएकी छन्। उनले भनिन्, ‘ठूली भएपछि घर जान्छु।’

कैलाशका छिमेकी मंकर मल्लिकले पनि चार वर्षकी छोरी पुनमकुमारी मल्लिकको विवाह दुई वर्षअघि बारा पथलैयाका ६ वर्षीय मुकेश मल्लिकसँग गरिदिएका थिए। पुनमको विवाहमा १० हजार नगद र एक थान साइकल दाइजो दिएको मंकरले बताए।

मल्लिक समुदायमा सानैमा विवाह गरिदिने र १२/१३ वर्षको भएपछि घर पठाउने चलन छ। रौतहटमा बसोबास गर्दै आएका डोम, चमार र मुसहर समुदायमा छोराछोरीको सानै उमेरमा विवाह गरिदिने चलन अझै रोकिएको छैन।

मुलुकी एेन बिहाबारी महलमा १० वर्षभन्दा कम उमेरका बालबालिकालाई विवाह गरिदिए ६ महिनादेखि ३ वर्षसम्म कैद र १० हजार जरिबाना तथा १० वर्षदेखिमाथि १४ वर्षभन्दा कम उमेरमा विवाह गरिदिए तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार जरिबानाको व्यवस्था छ। रौतहटका समनपुर, डुमरिया, मर्यादपुर, धरमपुर बरियारपुर, टेग्राह, राजपुर फरदवा, राजपुर तुल्सीलगायत गाविसमा बसोबास गर्ने गरिब तथा दलित समुदायमा बढी वालविवाह हुने गरेको छ।

तर बालविवाहको मुद्दा रौतहट जिल्ला अदालतमा चलेको थाहा नभएको कानुन व्यवसायी अनन्त अधिकारीले बताए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भीम ढकालका अनुसार प्रहरी कार्यालयमा पनि बालविवाहको उजुरी आउने गरेको छैन। विगतमा भन्दा बालविवाह गरिदिने चलनमा कमी आएको पाइएको बालअधिकारका क्षेत्रमा काम गर्दै आएको जनसेवा नेपालकी अध्यक्ष कोपिला तिमल्सेनाले बताइन्।
फणि महत, अन्नपूर्ण पाेष्टबाट साभार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>