समाचारशनिबार, चैत्र २२, २०७०
बालाजुमा ७० घर भत्काइए
काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले बालाजु बाइपास क्षेत्रमा सडक विस्तार शुरु गरेका छन् ।
काठमाडौंमा सडक विस्तारका क्रममा महानगरपालिका–१६ बाइपासमा सार्वजनिक सडक मिचेर निर्माण गरिएका घर टहरा भत्काइएको छ ।
महानगरपालिकातर्फबाट पटक–पटक सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका घर टहरा भत्काउन गरिएको आग्रहलाई अटेर गरिएकाले २२ चैत बिहानैदेखि सडक विस्तारको काम शुरु गरिएको महानगरीय प्रहरी प्रभाग बालाजुका प्रहरी निरीक्षक माधवराज खरेलले बताए ।
नेपाल प्रहरी, महानगरपालिकाका कर्मचारी, महानगर प्रहरीलगायत स्थानीय सरोकारवाला निकायका व्यक्तिहरुको उपस्थितिमा सडक विस्तार गरिएको उनले जानकारी दिए ।
कान्ति राजमार्ग हुँदै काठमाडौँ प्रवेश गर्ने नाका साँघुरो भएका कारण सवारी आवागमनमा समस्या भएको भन्दै सो स्थानमा पटक–पटक सार्वजनिक जग्गा खाली गर्न महानगरपालिकाले आग्रह गर्दै आएको थियो ।
सार्वजनिक जग्गामा निर्माण गरिएका घर टहराको कुनै आधिकारिक कागजात नभएकाले विस्तारका क्रममा कुनै पनि अवरोध नभएको प्रहरीको भनाइ छ ।
राजधानीका अन्य स्थानमा सडक विस्तार भए पनि सो स्थानमा लामो समयदेखि विस्तारको काम अगाडि बढ्न सकेको थिएन । बालाजु बाइसधारा पार्कदेखि अष्टनारायण हलसम्मको सबै घर टहरा खाली गराइने योजना रहेको छ ।
महानगरीय प्रहरी प्रभाग बालाजु आसपास र बालाजु औद्योगिक क्षेत्र नजिक पनि सडक विस्तारको क्रम जारी रहेको छ ।
