समाचारशनिबार, चैत्र २२, २०७०
प्रधानमन्त्रीले भने, ‘एउटाले बनाउने अर्कोले भत्काउने नगर्नुस’
प्रधानमन्त्री निवास बालुवाटारमा २२ चैतमा काठमाडौं उपत्यका सडक विस्तार आयोजना निर्देशन समिति र आयोजनासँग सम्बन्धित उच्च सरकारी अधिकारीहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री कोइरालाले एकापसमा समन्वयन नहुँदा काम प्रभावकारी हुन नसकेको भन्दै काठमाडौंको सडकविस्तार शिघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री कोइरालाले भने, “सडक विभागले सडक निर्माण गर्दै जाने खानेपानी, ढल, टेलिकम, नेपाल विद्युत् प्राधिकरणलगायतले फेरि भत्काउँदै जाने अवस्थाको अन्त्य गरिनुपर्दछ, यसो हुन सकेमात्र समयमै काम सम्पन्न हुन सक्दछ ।”
उनले हरेक कामलाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्ने र त्यसमा कुनै पनि सम्झौता नगर्न आग्रह गरे ।
सडक विस्तारसँगै सडक संरचना वरपर सुन्दरता ल्याउन र अनावश्यक पार्किङ नगराउन र धूलोको समस्या समाधान गर्न पनि उनले अधिकारीहरुको ध्यानाकर्षण गराएका थिए ।
सडक विस्तार भए पनि विस्तारित सडकमा गुणस्तरीयता नभएको, कमसल निर्माण सामग्रीको प्रयोग भएको, काम कारबाहीमा लापरबाही भएको भन्ने गुनासो आएकाले गुणस्तरीय काम गर्न उनले निर्देशन दिए ।
काठमाडौँ महानगरपालिकाले निर्माण अगाडि बढाएको कुल २२ किलोमिटरमध्ये १४ किलोमिटर चैत मसान्तसम्म पूरा हुनेछ भने एकीकृत वागमती सभ्यता आयोजनाको कुल ३० किलोमिटर सडकमध्ये चार किलोमिटर कालोपत्र हुने र चालु आर्थिक वर्षको अन्त्यसम्म १० मिलोमिटर सडक कालोपत्र भइसक्ने प्रधानमन्त्री कोइरालालाई जानकारी गराइएको सचिव कृष्णहरि बाँस्कोटाले जानकारी दिए ।
हालसम्म सडक विस्तार आयोजनाका लागि सरकारले रु १० अर्ब र निजी क्षेत्रबाट रु ४० अर्ब गरी कुल रु ५० अर्ब खर्च भएको समेत सचिव बाँस्कोटाले जानकारी दिएका थिए ।
