समाचारआइतबार, चैत्र २३, २०७०
बमसहित चार तिब्बती नागरिक पक्राउ
सशस्त्र प्रहरी गण पाथिभराले झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसबाट भारतमा बस्ने चार जना तिब्बती नागरिक, उनीहरुका सहयोगी दुई जना नेपाली साथै बसका चालक र सह–चालकलाई बमसहित पक्राउ गरेको छ ।
ना ५ ख ७८८ नम्बरको बसमा २२ चैत राति चेक जाँच गर्ने क्रममा बसको छतमा लुकाइराखेको डेटोनेटरसहितको बम फेला परेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले पक्राउ परेका सबैलाई कार्वाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा बुझाएको जनाएको छ ।
पक्राउ परेका तिब्बतीहरु भारत कर्नाटक राज्यमा विद्यालय सञ्चालन गरी बस्ने ४० वर्षीय लोब्साङ सोन्डेउ, २० वर्षीय सोङ डोए, ३१ वर्षीय लोब्साङ यासी, ४२ वर्षीय लोब्साङ डोस्नोड्यू भएको जनाएको छ ।
त्यसैगरी उनीहरुका सहयोगी नेपाली नागरिक काठमाडौं स्वयम्भूका ३५ वर्षीय महेश अधिकारी र सामाखुशीका २२ वर्षीय महेश खड्का पनि पक्राउ परेका छन् । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको बमलाई नेपाली सेनाले २३ चैत विहान निष्क्रिय पारेको छ ।
गोपाल गड्तौला, झापा
