थप समाचारआइतबार, चैत्र २३, २०७०
गहुँत व्यापार
– डम्बरकृष्ण श्रेष्ठ
साढे तीन वर्षअघि साँखुको लप्सीफेदीमा स्थापित वक्रेश्वर फार्म हाउसमा अहिले २८ वटा गाई छन् । दूध र मूत्रलाई महत्व दिएर खुलेको यो फार्मका १० कामदार दैनिक रूपमा दूधसँगै मूत्र संकलनमा व्यस्त हुन्छन् । संकलित गोमूत्रलाई विभिन्न चरणमा प्रशोधन गरेर डिष्टिल्ड वाटरको रूपमा तयार गरिन्छ । “विभिन्न शारीरिक रोगको निदान गर्ने औषधिको रूपमा गहुँत सेवन बढेको देखेर उत्पादनमा लागेका हौं”, फार्मका निर्देशक राजेश श्रेष्ठ भन्छन् ।
मलेशियामा व्यवसाय गर्दै आएका राजेशले केही नयाँ गरौं जसले समाजका अरूलाई पनि प्रेरित गरोस् भनेर दाइहरू राजकुमार र अमितसँग मिलेर ३४ रोपनी जग्गामा अर्गानिक खेतीसँगै गहुँत बोटलिङ गरेर विदेश निर्यात गर्ने योजना बनाएको बताए । फार्मले दूध, पनीर, चीज र लस्सी उत्पादन पनि गर्नेछ । भारत, चीन, फिलिपिन्स र अमेरिका गोमूत्रको सम्भावित बजार भएको राजेश बताउँछन् ।
श्रेष्ठ दाजुभाइ गोमूत्रबाट सफा र खानयोग्य ‘अर्क’ बनाउने तरिका सिक्न भारतको तामिलनाडुस्थित एग्रिकल्चर युनिभर्सिटीसम्म पुगेका थिए । “नेपालीले रामदेवको पतञ्जली योगपीठबाट आयातीत गोमूत्र सेवन गरिरहेका छन्”, राजेश भन्छन्, “हाम्रो मूल लक्ष्य यही गोबर र मूत्रलाई आम्दानीको स्रोत बनाउने हो ।”
मानव शरीरको अवाञ्छित कीटाणु मर्ने, कलेजोलाई दुरुस्त राख्ने, दिमाग र हृदयलाई तनावबाट मुक्त गर्न सहयोग गर्ने, औषधिहरूको साइड इफेक्ट नियन्त्रण गर्ने, शरीरमा रहेका विषादि हटाउने, रगत सफा गर्ने, ग्याष्टिक हटाउने, पाचन शक्ति बढाउने लगायतका गुण रहने गोमूत्रमा तामा, स्वर्ण, नून जस्ता खनिजतत्व हुन्छ ।
उत्पादन र व्यापार
वक्रेश्वर फार्म हाउसमा अहिले दैनिक २० लिटर गोमूत्र संकलन गरेर १० लिटर खानयोग्य गोमूत्र तयार गरिंदैछ । एउटा गाईले दिनमा १० लिटरसम्म मुत्ने भए पनि तीन लिटरसम्म संकलन गर्न सकिन्छ । बाल्टिनमा थापिएको गाईको मूत्रलाई ४५ मिनेटसम्म उमालेर मिथेन ग्याँस हटाइन्छ । त्यसपछि घरेलु रक्सी बनाए जस्तै भाँडामा उम्लेको मूत्रको वाफ संकलन गरिन्छ ।
फार्मले यसरी तयार पारेको गहुँत अहिले प्रतिलिटर रु.७०० मा बिक्री गरिरहेको छ । सरकारी प्रक्रियामा ढिलाइ हुँदा आन्तरिक र बाह्य बजारमा ठूलो परिमाणमा पठाउन नसकेको राजेश बताउँछन् । सरकारको कुन निकायले ‘गोमूत्र’ उत्पादनको अनुमति दिने ? कहाँ दर्ता गर्ने जस्ता कुरा बुझदै साढे तीन वर्ष बितिसकेको उनले बताए ।
उनका अनुसार, सरकारको आयुर्वेद औषधि विभागमा दर्ता प्रक्रियाबारे बुझन जाँदा ‘गाई फार्म खोलेपछि दूध नै बेचे भइहाल्यो, किन मूत्र बेच्नु पर्यो ?’ भन्ने जवाफ पाएको र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) बाट गोमूत्रको परीक्षण रिपोर्ट लिनै डेढ वर्ष लाग्यो ।
राजेशले बोटलिङ गरेको गोमूत्रको स्याम्पल मलेशियासम्म पुर्याएका छन् । “हामी सरकारलाई कर तिरेर देशभित्र पनि गोमूत्र बेच्न चाहन्छौं”, राजेश भन्छन्, “यत्रो लगानी गरेर काम गरिरहेका छौं, तर यतिका सरकारी निकायमध्ये कुनै सहयोग गर्न अग्रसर हुँदैनन् ।”
पतञ्जली योगपीठले प्रतिलिटर गोमूत्रको ८५ अमेरिकी डलरमा विश्वभर इन्टरनेट मार्केटिङ गरिरहेको छ । नेपाल सरकारले पनि अनुमतिका साथ सहज बनाइदिए उत्पादनसँगै देश–विदेशमा मार्केटिङ गर्न सजिलो हुने राजेश बताउँछन् ।
पूजाहरूमा चाहिने पञ्चगव्यकै लागि पनि गहुँत बिक्री हुने उनको विश्वास छ । पतञ्जलीको गोमूत्र शुद्धीकरण मात्र गरिएको हो भने वक्रेश्वरले डिष्टल्ड नै गरेको राजेशले बताए ।
साप्ताहिक खबरपत्रिका हिमालबाट


