थप समाचारमंगलबार, चैत्र २५, २०७०
काठमाडौंबाट शिकार खेल्न बर्दिया पुगेका हतियारसहित पक्राउ
बर्दिया राष्ट्रिय निकुञ्जमा खटिएको नेपाली सेनाको रम्मापुर चेक पोष्टले मगरागडी–हर्नवा सामुदायिक बन हुँदै शिकार खेल्न निकुञ्ज प्रवेश गर्न लागेका बेला टुटु १ थान र ट्वेल्भ बोर १ थान सहित ५ जनालाई २४ चैत राती पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाहरु २ थान बन्दुक, ३१ राउण्ड गोली, सर्च लाईट, बन्चरो लिएर बा २ च ८४२३ नम्बरको जीपमा काठमाडौँ बाट आएको निकुञ्जले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौँ बिशाल नगरका ७५ वर्षीय नेत्रशम्शेर जबरा, ४९ वर्षीय सञ्जय मल्ल, जीप चालक सितापाईलाका ३२ वर्षीय विष्णु महर्जन, बर्दिया मगरागडी– १ का ५८ वर्षीय बुधराम थारु र ५८ वर्षीय मिहीया थारु रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए ।
सामुदायिक वनभित्रै बा २ च ८४२३ नम्बरको जीप रोकेर हतियार सहित निकुञ्ज प्रवेश गर्न लागेको आवस्थामा उनीहरुलाई पक्राउ गरेको सेनाले जनाएको छ ।
पक्राउ परेका पाँचै जनालाई निकुञ्ज मुख्यालय ठाकुरद्वारा लगिएको छ ।
जनावर मारेको फेला नपरेपनि उनिहरु बंदेलको शिकार गर्न सामुदायिक वन र निकुञ्ज भित्र जान लागेको भन्ने सोधपुछका क्रममा खुलेको निकुञ्जले जनाएको छ ।
भावुक योगी, बर्दिया
