थप समाचारमंगलबार, चैत्र २५, २०७०
पाँच वर्षमा २२ विमान किन्ने: मन्त्री आचार्य
नुवाकोटको विदुरमा आयोजित श्रीमद्भागवत महायज्ञमा सहभागी हुन आएका नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यले पार्टी जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा पाँच वर्षभित्र अन्तर्राष्ट्रिय उडानका लागि ७ ठूला र घरेलु उडानका लागि १५ साना विमान खरिद गर्ने योजना बनिरहेको बताए ।
मन्त्री आचार्यले नेपालको पर्यटनको विकास र प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय विमानस्थल महत्वपूर्ण भएकाले तीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको भन्दै थपे, “पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अड्किएको फाइल टुङ्गाएको छु, भैरहवा र निजगढको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाइएको छ । ”
उनले अन्य विमानस्थलको सुधार र आधुनिकीकरणका लागि पनि सरकारले प्राथमिकतामा राखेको बताए ।
एमालेका पोलिटब्युरो सदस्य समेत रहेका आचार्यले पार्टीको महाधिवेशनमा अनुहारभन्दा पनि पार्टीलाई आगामी पाँच वर्षसम्म हाँक्न सक्ने योग्य व्यक्तिलाई चयन गर्न आग्रह गर्दै जनताको बहुदलीय जनवाद (जबज)लाई परिमार्जनसहित कार्यान्वयनको पाटोमा लैजानुपर्ने बताएका थिए ।
