समाचारबुधबार, चैत्र २६, २०७०
सन्तानको सुख र शिक्षाको आशामा अमेरिका जाँदैछुः शरणार्थी
२५ चैतमा अमेरिका उडनुअघि भुटानी शरणार्थी तिलकचन्द्र घिमिरेले आफू उत्साह, अनिश्चय र आश्चर्यकाबीच अमेरिका जान लागेको बताएका छन् । आफ्नै मुलुकमा फर्कने चाहना पूरा नभएपछि छोराछोरीले राम्रो शिक्षा र सुख पाउलान भन्ने आशामा अमेरिका जान लागेको उनले बताए ।
गत साढे ६ वर्षमा अमेरिका लगायत आठ पश्चिमी मुलुक पुनर्वास भएका ८८ हजार ४८१ शरणार्थीमध्ये ८७ प्रतिशत अमेरिका गएका छन् ।
त्यसैगरी क्यानाडामा ६हजार ८७९, डेनमार्कमा ९५८, नर्बेमा ७१०, न्यूजिल्याण्डमा १हजार ७९, नेदरल्याण्डसमा ३७७, अष्ट्रेलियामा ५ हजार ८३३ र बेलायतमा ४१५ जना भुटानी पुनर्वासमा गएका छन् ।
भुटान र नेपाल सरकारबीच शरणार्थी मुद्दालाई लिएर सन १९९३ पछि भएका १५ औं चरणसम्मका बार्तामा भुटानले आफ्ना नागरिक फर्काउन नचाहेपछि मानवीय सहायतास्वरुप संयुक्त राष्ट्रसंघीय शरणार्थी समबन्धी उच्च आयोगले उनीहरुलाई तेस्रो मुलुकमा पुनर्वास गराउन थालेको हो ।
उनिहरुलाई नेपालका शिबिरबाट अमेरिकासम्म लैजाने काम भने अन्तराष्ट्रिय आप्रवासी संगठन आइओएमले गरिरहेको छ ।
सन् २००८ को ४ मार्चमा भुटानी शरणार्थीको पहिलो खेप अमेरिका उडेको थियो ।
गोपाल गडतौला, हिमालखबर

