थप समाचारबुधबार, चैत्र २६, २०७०

थप्पड हान्नेलाई केजरीवालले फूल दिए

हिमालखबर

दिल्लीका पूर्व मुख्यमन्त्री समेत रहेका आप संयोजक अरविन्द केजरिवाललाई २५ चैतमा दिल्लीको सुल्तानपुरीमा चुनावी कार्यक्रम गरिरहेका बेला अटोरिक्सा चालक लालीले एक थप्पड हानेका थिए । आफूलाई थप्पड हान्नेलाई केजरीवाल फूल लिएर २६ चैतमा भेट्न गएपछि लालीले खुट्टा छोएर माफी मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केजरीवाल फूल लिएर आफ्नो अगाडि उभिएको देखेपछि लाली भावुक हुँदै माफी मागेका थिए । उनले केजरीवालमाथि वाचा पूरा नगरेको आरोप लगाएका थिए ।

लालीको थप्पडले केजरीवालको बायाँ आँखामा सामान्य चोट लागेको थियो भने उनको चश्मा फुटेको थियो ।

घटनापछि आप समर्थकहरुले लालीलाई पक्रेर पिटेका थिए त्यसपछि उनलाई प्रहरीले हिरासतमा लिएको थियो । तर लालीका विरुद्ध कसैले उजुरी नगरेपछि उनलाई प्रहरीले छोडेको थियो ।

लालीले थप्पड हानेलगत्तै केजरीवाल कार्यक्रम स्थगित गरी महात्मा गान्धीको सभाधिस्थल राजघाट गएर एक घन्टा ध्यान गरेका थिए । त्यसपछि आयोजित पत्रकार सम्मेलनमा उनले आफूमाथि षडयन्त्र भइरहेको भन्दै अझै ठूलो आक्रमण हुनसक्ने बताएका थिए ।

“हामीमाथि अझै ठूला आक्रमण हुनसक्छन तर, हामी बदलामा उत्रिनु हुँदैन, ” उनले भनेका थिए ।

केजरीवालमाथि यसअघि पनि हिसार, बनारस, दिल्ली र गुजरातमा आक्रमण भइसकेको छ । तर पनि उनले राज्यबाट कुनै प्रकारको पनि सुरक्षा लिन अस्वीकार गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>