थप समाचारबुधबार, चैत्र २६, २०७०
इलाममा दश जुवाडे पक्राउ
नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोविन्द गिरीसहित १० जना जुवाडे इलामको नवमी बजारमा जुवा खेलिरहेका बेला प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
स्थानीय नरेन्द्र जवेगुको घरमा कौडा खेल्दै गरेको अवस्थामा २५ चैतमा पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले २६ चैतमा सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा झापा गौरादह–१ का गणेश लिम्बू, जितपुर–३ का खेमबहादुर लिम्बू, जितपुर–४ का अर्जुन भूजेल, जितपुर–१ का चन्द्रबहादुर तामाङ, मोरङ मधुमल्ला–२ का शिवकुमार लिम्बू, जितपुर–४ का दुर्गा पराजुली, जितपुर–१ का रेशम मगर, गजुरमुखी–४ का मानबहादुर विक र साङरूम्वा–३ का उदय राई छन् ।
उनीहरूका साथबाट प्रहरीले चार थान मोबाइल, नगद रु एक लाख १० हजार ५२० सहित कौडा एक सेट बरामद गरेको छ । गिरी काँग्रेसका इलाम क्षेत्र नं. २ का सभापति हुन् ।
पक्राउ परेका सबैलाई जुवा ऐन, २०२० अन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।
रासस
