थप समाचारबिहीबार, चैत्र २७, २०७०
प्रहरी अस्पताललाई शिक्षण अस्पताल बनाइनेः गृहमन्त्री गौतम
नेपाल प्रहरी अस्पतालको ३० औं वार्षिकोत्सवका उपलक्ष्यमा २७ चैतमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले नेपाल प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रुपमा स्तरोन्नति गराई आत्मनिर्भर बनाउने प्रयास गरिरहेको बताएका छन् ।
प्रहरी प्रधान कार्यालयले कल्याणकारी कोषमार्फत अस्पतालको भौतिक पूर्वाधार तथा सेवा विस्तारका लागि रु ५० लाख प्रदान गरेकामा प्रशंसा गर्दै गृहमन्त्री गौतमले अस्पतालको उन्नयनका लागि सरकारले पनि सक्दो सहयोग पु¥याउने बताए ।
राजधानीमा थप शिक्षण अस्पताललाई सम्बन्धन दिन नहुने भन्दै त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसी अनशन बसेपछि सम्बन्धनका लागि प्रयासरत नेपाल प्रहरी लगायतका ४ वटा अस्पतालले सम्बन्धन प्राप्त गर्न सकेका छैनन् । त्रिविमा अनुगमन गर्ने जनशक्ति कम भएको, शिक्षण अस्पतालले गुणस्तरीय शिक्षा प्रदान नगर्दा राम्रा चिकित्सक उत्पादन नभएको र चिकित्सा क्षेत्र कमजोर हुँदै गएको, राजधानीमै धेरै अस्पताल बनाउनु भन्दा उपत्यका बाहिरका दुर्गम क्षेत्रमा अस्पताल खोल्नुपर्ने अधिकांश चिकित्सकहरुको मान्यता छ ।
लोकसेवाले सहयोग गरेन
मन्त्री गौतमले लामो समयदेखि रोकिएको नेपाल प्रहरीभित्रको बढुवा प्रक्रियालाई नियमावली छिटो संशोधन गरेर कार्यान्वयनमा तुरुन्त लैजान खोजेकामा लोकसेवा आयोगका तर्फबाट त्यसमा आवश्यक सहयोग नपाएको गुनासो गरे ।
उनले वरिष्ठ अधिकृतको बढुवाका लागि परामर्श लिने नाममा निर्देशन लिने विगतको प्रयासले गर्दा बढुुवा प्रक्रियामा असर परेकाले अब जस्तोसुकै आरोप लागे पनि मन्त्रिपरिषद्बाट निर्णय गराएर अघि बढ्ने बताए ।
“आयोगबाट अब केही समयभित्रै परामर्श प्राप्त भएन भने राज्यसत्ता बन्द हुन सक्दैन, मन्त्रिपरिषद्बाट निर्णय गरेर अघि बढ्छौ,” मन्त्री गौतमले भने
