समाचारबिहीबार, चैत्र २७, २०७०

मन्त्रिपरिषद बैठक: संविधानसभाको उपनिर्वाचन ८ असारमा

हिमालखबर

२७ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानसभा सदस्यको चार रिक्त क्षेत्रमा निर्वाचनका लागि ८ असार २०७१ मिति तोकिएको सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले जानकारी दिए ।

काठमाडौं–२ बाट माधवकुमार नेपाल, कैलाली–६ बाट शेरबहादुर देउवा, बर्दिया–१ बाट वामदेव गौतम र चितवन–४ बाट सुशील कोइराला निर्वाचित भएकोमा उनीहरुले ती स्थान छोडेपछि उपनिर्वाचन हुने भएको हो । उनीहरु सबै दुई दुई क्षेत्रबाट निर्वाचित भएका थिए ।

सचिवको सरुवा

त्यसैगरी बैठकले निजामती सेवाका विशिष्ट श्रेणीका सचिवलाई मन्त्रालय र क्षेत्रिय निर्देशनालयमा पदस्थापना एवं सरुवा गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रिजालले जानकारी दिए । जसअनुसार शिक्षा मन्त्रालयमा विश्वप्रकाश पण्डित, गृहमा सूर्य सिलवाल, अर्थमा युवराज भुसाल, सूचना तथा सञ्चारमा सुमनप्रसाद शर्मा, सिंचाइमा माधव रेग्मी, राष्ट्रिय योजना आयोगमा डा सोमलाल सुवेदी, वातावरण विज्ञान तथा प्रविधिमा डा कृष्णचन्द्र पौडेल र सामान्य प्रशासन मन्त्रालयमा इन्द्रप्रसाद उपाध्यायलाई तोकिएको छ ।

मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले जल तथा शक्ति आयोगमा श्रीरञ्जन लाकौल, युवा तथा खेलकुदमा प्रतापकुमार पाठक, भूमिसुधार तथा व्यवस्थामा लोकदर्शन रेग्मी, महालेखा नियन्त्रकको कार्यालयमा शङ्कर अधिकारी, उपराष्ट्रपतिको कार्यालयमा राजकुमार मल्ल, राष्ट्रिय सतर्कता केन्द्रमा हरिप्रसाद नेपाल, वाणिज्य तथा आपूर्तिमा नारायणगोपाल मलेगो र सार्वजनिक खरिद अनुगमन कार्यालयमा अनुपकुमार उपाध्यायलाई सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शान्तराज सुवेदी र दुर्गानिधि शर्मा, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयमा भोलाप्रसाद शिवाकोटी, पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयमा हरिकुमार श्रेष्ठ र सुदूरपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयमा नारायणप्रसाद रेग्मीलाई जिम्मेवारी तोकेको छ ।

रेग्मीलाई हाल प्रधानमन्त्री कार्यालयमा काजमा खटाउने निर्णय भएको छ । त्यसैगरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवलाई अवकाश दिने निर्णय भएको छ ।

सरकारले हालै प्रशासन सुधार आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरी आवश्यक कार्यान्वयनका लागि सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय गरेको छ । केही समयअघि अपाङ्गतासम्बन्धी सङ्घसंस्थाले संविधानसभामा मनोनयनका लागि गरेको अनशनपछि भएको सहमतिअनुसार अघि बढ्ने निर्णय पनि सरकारले गरेको छ ।

त्यस्तै सुनसरीको चतरामा सञ्चालित पूर्णकुम्भ मेलाका लागि थप रु ५० लाख आर्थिक सहायता दिने र युनेस्कोको कार्यालयमा गौतम बुद्धको मूर्ति राख्नका लागि आवश्यक रकम विनियोजन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले क्यासिनो नवीकरणका लागि सकिने म्यादपछि अन्तिम पटकका लागि १५ दिनको म्याद थप्ने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>