समाचारबिहीबार, चैत्र २७, २०७०
कृष्णप्रसाद हत्या अनुसन्धान पूरा, ‘बल सरकारी वकिलको कोर्टमा’
माओवादीद्वारा २०६१ सालमा हत्या गरिएका गोरखाका कृष्णप्रसाद अधिकारी हत्या घटनाको अनुसन्धान पूरा गरेर जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान मिसिल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
प्रहरीले २६ चैतमा बुझाएको मिसिलमा हत्या अभियोगमा पक्राउ परेका अभियुक्तहरुलाई १० देखि १५ वर्ष कैद र फरार रहेका अभियुक्तहरुलाई सर्वस्वसहित जन्मकैदको सजाय माग गरिएको छ ।
“अधिकारी हत्या सम्बन्धमा प्रहरीले अनुसन्धान पूरा गरेको छ, मृतक दुई जनासहित १५ जना दोषि देखिएका छन्,” प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले हिमालखबरलाई भने, “अब बल सरकारी वकिलकोे कोर्टमा पुगेको छ ।”उनले अनुसन्धानको काम प्रहरीले पूरा गरेको भन्दै अभियोजनको काम सरकारी वकिलको र छानबिनकोे पाटो अदालतको भएको बताए ।
प्रहरीले घटनास्थल, प्रत्यक्षदर्शी, पीडित र साक्षीको बयान लगायतका आधारमा घटना अनुसन्धान पूरा गरेको कार्कीले बताए ।
चितवन प्रहरीले अधिकारी हत्या सम्बन्धमा सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको यो तेस्रो पटक हो । यसअघिका दुई प्रतिवेदनमा ‘पर्याप्त आधार नभएको’ भन्दै जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मुद्दा दायर गरेको थिएन । उसको यस्तो ‘राय’ आएपछि पक्राउ परेका अभियुक्तहरु छुटेका थिए ।
पछिल्लो पटक अधिकारी हत्या अभियोगमा प्रहरीले छविलाल पौडेल र भीमसेन पौडेललाई पक्राउ गरी अनुसन्धान गरेको थियो । उनीहरु दुवै हत्या योजनामा संलग्न रहेको प्रहरीको दाबी छ ।
पक्राउ परेका पौडेलद्वयसहित रामप्रसाद अधिकारी, कालीप्रसाद अधिकारी, रुद्र आचार्य लगायत १५ जना दोषि पाइएको प्रहरी उपरीक्षक कार्कीले बताए ।
दोषिमध्येका ऋषिराम लामिछाने र मदन पौडेलको २०६२ मै सुरक्षाकर्मीसँगको भिडन्तमा मृत्यु भइसकेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार उनीहरु दुवै गोली हान्ने कार्यमा संलग्न थिए । त्यसैगरी गोली हान्ने अर्का आरोपी रुद्र आचार्य हाल बेलायतमा रहेकाले पक्राउका लागि नेपाल प्रहरीले इन्टरपोलसँग सहयोग मागेको छ । तर, इन्टरपोलले अदालतले जारी गरेको पक्राउ आदेश पठाउन नेपाल प्रहरीलाई आग्रह गरेको प्रहरी स्रोतले जनाएको छ ।
अदालतबाट पक्राउ आदेश जारी हुनासाथ आचार्यलाई इन्टरपोलले पक्राउ गरी नेपाल प्रहरीलाई सुपुर्दगी गर्न सक्नेछ ।
दुई दिनपछि निर्णय हुन्छः सरकारी वकिल
जिल्ला सरकारी वकिलको कार्यालय चितवनका न्यायाधिवक्ता एकनारायण भण्डारीले प्रहरीले बुझाएको मिसिलको पूर्ण अध्ययनपछि मात्रै मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय गरिने बताएका छन् ।
२७ चैतमा हिमालखबरसँग कुरा गर्दै न्यायाधिवक्ता पौडेलले भने, “निकै ठूलो फाइल छ, सबै प्रमाण पुगे÷नपुगेको अध्ययन गरेपछि मात्रै निर्णय हुन्छ ।” उनले थप दुई दिन अध्ययनमा मात्रै लाग्ने बताए ।
यसअघिका प्रहरीका दुईवटा प्रतिवेदनमा प्रमाण नपुगेको भन्दै मुद्दा चलाउन नमिल्ने निर्णय गर्नेमा पनि ढकाल नै थिए ।
यता कृष्णप्रसादका आमाबाबु छोराका हत्यारालाई कारवाहीको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा अनशनरत छन् । उनीहरुको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएको चिकित्सकको भनाई छ ।
सरकारले पटकपटक अनशन तोड्न आग्रह गरे पनि हत्यारामाथि कारवाही प्रक्रिया शुरु नै नभएको भन्दै कृष्णप्रसादका बाबुआमा नन्दप्रसाद र गंगामायाले अनशन तोड्न मानेका छैनन् ।

