समाचारबिहीबार, भाद्र १४, २०६९
निकासका लागि दुई विकल्पमा छलफल
राष्ट्रपति कार्यालय शीतलनिवासमा १४ भदौमा दलीय सहमतिमा संविधानसभा पुनर्स्थापना गरेर मिल्न बाँकी रहेका विवाद समाधान गरी संविधान जारी गर्ने कि, ताजा जनादेशमा जाने भन्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री तथा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले जानकारी दिए ।
राष्ट्रपति यादवले दलहरूलाई सहमति गरेर तत्काल संविधान जारी गर्न दबाब दिएका थिए । राजनीतिक अन्योल कायमै रहे मुलुक ठुलो दुर्घटनामा फस्न सक्ने बताउँदै राष्ट्रपतिले छिटो संविधान निर्माण गर्न दबाब दिएका हुन् ।
भेटमा सरकारले सिफारिस गरेका अध्यादेशको बारेमा छलफल भएको थियो । नेपाली कांग्रेस सभापति सुशील कोइराला र नेकपा एमाले अध्यक्ष झलनाथ खनालले सरकार एकलौटी ढंगबाट अघि बढ्न अध्यादेश ल्याएको बताएका थिए । एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधानमन्त्री गच्छदारले अत्यावश्यक विषयका लागि अध्यादेश ल्याउनु सरकारको बाध्यता भएको धारणा राखेका थिए ।
