समाचारबिहीबार, भाद्र १४, २०६९
राजनीतिक अन्योलले कर्मचारी प्रशासनमा सुधार गर्ने अवस्था छैन:मुख्य सचिव
१४ भदौमा गृह जिल्ला गुल्मी पुगेका नेपाल सरकारका मुख्य सचिव पौड्यालले नेपाल पत्रकार महासङ्घ गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सुधारका लागि कानुन बनाउने अवस्था नरहेको र अध्यादेश ल्याउँदा आलोचनामात्रै भएकाले अहिले कर्मचारीतन्त्रमा सुधारको अवस्था नरहेको बताए । “अहिले ठूलो सुधार सम्भव छैन, किनकि ऐनकानुन संशोधन गर्दा अध्यादेशका कुरा उठ्छन्,” पौडेलले भने — “त्यसैले अहिले देशको अवस्थाले गर्दा कर्मचारी प्रशासनमा ठूलो सुधार गर्न सक्ने अवस्था छैन ।”
आफू मुख्य सचिव भएको पहिलो बैठकले आठ कार्यदल बनाएर प्रतिवेदन तयार पार्न सुरु गरेको उनले बताए । पौडेलले भने “आठवटा कार्यदल गठन गरी सुधारका लागि सुरुआत त गरेका छौँ कर्मचारीमा उत्तरदायी प्रणाली, कामको मापन गर्र्ने अधिकार सेवाग्राहीबाट प्राप्त गर्ने र स्रोत र साधनप्रति पारदर्शिता लागु गर्न सकियो भने ठूलै सुधार गर्न सकिन्छ ।”
कर्मचारी औपचारिक कार्यक्रममा गएर समय बिताउने प्रवृत्तिको अन्त्य गर्न पहल सुरु गरिएको उनले बताए । “देशमा औपचारिक कार्यक्रमले अनावश्यक खर्च र समय लिएको कुरालाई समेत सरकारले नयाँ ढङ्गबाट काम गर्न सुरु गरेको छ,” उनले भने — “उपस्थित भएका जतिलाई आसनग्रहण र दिनभरि भाषण हुने गर्छ, औपचारिक कार्यक्रममा उपलब्धि कम र समय र खर्च बढी हुने गरेको छ ।” रासस
