समाचारशुक्रबार, चैत्र २८, २०७०
बाबुराम भट्टराई विनोद चौधरीको उद्योगबाट प्रभावित
२८ चैतमा नवलपरासी आएका एमाओवादी नेता बाबुराम भट्टराईले आर्थिक र राजनीतिक क्रान्ति एक अर्काको परिपूरक भएको भन्दै अबको केही वर्ष आर्थिक क्रान्तिमा लाग्नु जरुरी भएको बताएका छन् ।
देशकै ठूलो व्यापारिक घराना चौधरी समूहको उद्योग ग्राम अवलोकनपछि पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले भने, “एउटा औद्योगिक घरानाले त यति धेरै गर्न सक्छ, राज्य नै लाग्यो भने कति होला । अबको क्रान्ति आर्थिक विकासकै हो ।” उनले थपे, “विनोद चौधरीको उद्योग र यसको उत्पादनबाट म प्रभावित भएँ ।”
उनले आलु चिप्स, वियरजस्ता उत्पादनका लागि बाहिरबाट कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण भन्दै स्वदेशमा नै कच्चा पदार्थ उत्पादन गर्न राज्यले नीतिगत रुपमै व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
रोजगारी बढाउन पूँजी, श्रम र बजारको संयोजन हुनुपर्ने भन्दै भट्टराईले राज्यले आफैं कारखाना नखोली नीजि क्षेत्रलाई नै बढावा दिन आबश्यक भएको धारणा व्यक्त गरे ।
चौधरी उद्योगको विकासको मोडेल र उत्पादनको मोडेललाई सरकारले बढवा दिन आवश्यक रहेको भन्दै भट्टराईले उत्तर र दक्षिणका छिमेकमा रहेका ठूला बजारको फाइदा नेपालले उठाउनु आवश्यक रहेको दोहोर्याएका थिए ।
विद्रोही गिरी, नवलपरासी
