थप समाचारशुक्रबार, चैत्र २८, २०७०

कार्वाही नहुँदा पेट्रोलपम्प उत्साहित

हिमालखबर

– सेन्छेलुङ लिम्बू

नेपाल गुणस्तर तथा नापतौल विभाग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको संयुक्त बजार अनुगमन टोलीले ३० मंसीरमा घन्टाघरस्थित चुनिलाल–हरिनारायण आयल स्टोरले पाँच लिटरमा १५० मिलिलिटर नपुग तेल बेचिरहेको पायो।

अनुगमन टोलीले आपूर्ति खुला गरेपछि तेल बिक्री गर्दै लगनखेलस्थित मञ्जुश्री पेट्रो सेन्टर।

पाँच महीनामा डिजलबाट रु.४१ हजार ४०६ र पेट्रोलबाट रु.२२ लाख ५४ हजार २०० (हे. हिमाल, १२–१८ माघ) ठगेको पाएको टोलीले उक्त पम्पलाई १९ फागुनदेखि फुक्काफाल छाड्यो। नापतौल विभागका उपमहानिर्देशक विश्वबाबु पुडासैनीले रु.२ हजार जरिवाना तिराएर पम्पलाई संचालन अनुमति दिइएको बताए।

पेट्रोल र डिजल दुवैमा प्रति पाँच लिटरमा ६० मिलिलिटर ठगेको लगनखेलको मञ्जुश्री पेट्रो सेन्टरले पनि चुनिलाल–हरिनारायणले जस्तै रु.२ हजार जरिवाना तिरेर उन्मुक्ति पायो। मञ्जुश्रीले पाँच महीनाको पेट्रोल बिक्रीबाट रु.१ लाख ४१ हजार ९६० र डिजलबाट रु.२ लाख ८६ हजार ६५२ ठगेको थियो।

यसैगरी, प्रति पाँच लिटर पेट्रोलमा २०० मिलिलिटर ठगेर रु.३ लाख २७ हजार ६०० कमाएको ग्वार्कोको उज्ज्वल आयल स्टोर्सले पनि रु.१ हजार तिरेर उन्मुक्ति पायो। अनुगमन टोलीले मेशीन बिगारेर उपभोक्ता ठग्ने फर्पिङको शिव आयल स्टोरलाई पनि रु.१ हजार जरिवाना गरेर ११ फागुनबाट उन्मुक्ति दियो।

स्ट्यान्डर्ड नाप र तौल नियमावली, २०२७ अनुसार पाँच लिटरको नापमा नपुगेको मात्रा १५ मिलिलिटरभन्दा बढी हुनुहुँदैन। नाप र तौल ऐन, २०२५ को दफा ३० मा नाप वा नाप्ने यन्त्र घटी/बढी बनाएर बिक्री वितरण गर्नेलाई रु.१ हजार जरिवाना वा एक वर्षसम्मको कैद वा दुवै सजायको प्रावधान छ।

तर, महीनौंसम्म त्योभन्दा बढी परिमाणको तेल बेचेर सर्वसाधारण ठग्नेलाई अनुगमन टोलीले उनीहरूले ठगेको भन्दा ज्यादै न्यून जरिवानामा चोख्याएको देखिन्छ। आपूर्ति रोक्का गरिएका पम्पलाई पनि टोलीले खुला गरिदिएको छ।

छैन कारबाही

आपूर्ति खुला भएपछि तेल बिक्री गर्दै घन्टाघरस्थित चुनिलाल–हरिनारायण आयल स्टोर।

अधिवक्ता रामचन्द्र सिम्खडा अनुगमन टोली आफैंले दोषी प्रमाणित गरेको पम्पहरूलाई कारबाही नगरी उन्मुक्ति दिएको बताउँछन्। ती पम्पहरूले मेशीनको मिटर पूरै घुम्न नदिएर, गियरबक्सको रिङ्ग झारेर, अर्थिङ राखेर, मिटर छिटो र ढिलो घुम्ने बनाएर ठगी गरेको नापतौलका उपमहानिर्देशक पुडासैनी स्वयं बताउँछन्।

उनले कतिपय पम्पले नापतौलले सिल गरेको मेशीनमा समेत गडबड गरेर पेट्रोलियम बेचेको बताए। “तर, दोहोर्याीई–तेहेर्यालई कम परिमाणमा तेल बिक्री गरेको पाइए मात्र मुद्दा प्रक्रिया अघि बढ्न सक्छ”, बजार अनुगमनको नेतृत्व गर्ने नापतौल विभागका उपमहानिर्देशक पुडासैनी भन्छन्।

उता, अधिवक्ता सिम्खडा नियमन निकायले चाहने हो भने ठग व्यवसायी विरुद्ध उपभोक्ता संरक्षण ऐन, २०५४ र मुलुकी ऐनको ठगी महल समेत आकर्षित हुने बताउँछन्। उपभोक्ता संरक्षण ऐनमा उपभोक्ता हित विपरीत क्रियाकलाप गर्नेलाई रु.१ लाखसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था छ।

तर, जिम्मेवार अधिकारीहरू आम उपभोक्तालाई मारमा पार्ने पम्प विरुद्ध कानून कार्यान्वयन गर्ने ‘मूड’ मा देखिंदैनन्। परिणाम, कम तेल बेचेर पनि सतुंगलको काठमाडौं आयल स्टोर, नयाँबानेश्वरको थ्री ब्रदर्श, कौशलटारको अरनिको पेट्रोल र स्वयम्भूको हामा आयल प्रालिले समेत सजिलै उन्मुक्ति पाएका छन्।

कम तेल दिई ठगी गर्नेमा बल्खुको दक्षिणकाली आयल स्टोर, टेकुको कनक ट्रेड, लोकन्थलीको सिद्धार्थ फ्यूल, प्रहरी कल्याण कोष पेट्रोल पम्प, त्रिपुरेश्वरको जयन्ती आयल र लगनखेलको शक्तिदेवी पेट्रोल पम्पले पनि उन्मुक्ति पाए।

११ चैतको अनुगमनमा भद्रकालीस्थित नेपाली सेनाको रिपुमर्दिनी पेट्रोल स्टेशनले पनि नोजलमा कैफियत गरेर पेट्रोलमा २५ मिलिलिटर कम पार्ने गरेको अनुगमन टोलीले पाएको थियो। यसैगरी, सुन्धाराको संजय सर्भिस सेन्टरले पेट्रोलमा १५० मिलिलिटर र टौदह ट्रेडर्स प्रालिले पेट्रोलमा १०० मिलिलिटर कम बेचिरहेको फेला परेको थियो।

यी दुवै पम्पको आपूर्ति रोक्का भएको छ भने रिपुमर्दिनीले नोजल सुधार्ने निर्देशन पाएको छ। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना भन्छन्, “लाखौं ठगेर हजारमा उन्मुक्ति पाएपछि उनीहरू यो धन्दामा झ्न् हौसिने छन्।”
________________________________________
खानेतेलमा पनि उस्तै
बजार अनुगमन टोलीले १ पुसमा ‘मेजन सनफ्लावर सिड तेल’ को बोतलमा कीरा फेला पार्योल। म्याद गुज्रेको (ब्याच नम्बर १२१३०५४९) उक्त तेल परीक्षण गर्ने सुविधा नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको जवाफ आएपछि सो विषय त्यसै सेलाएको छ।

खाद्य विभाग बाहेक नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) सहित राजधानीमा आधा दर्जन प्रयोगशाला भए पनि सो तेल कतै पठाइएन। यसरी परीक्षण नै नभएपछि ‘मेजन सनफ्लावर सिड तेल’ मा पनि व्यवसायीले उन्मुक्ति पाए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>