समाचारशनिबार, चैत्र २९, २०७०
प्रधानन्यायाधीश शर्माको शपथग्रहण
राष्ट्रपति भवन शीतलनिवासमा २८ चैत साँझ आयोजित समारोहमा राष्ट्रपति यादवले शर्मालाई प्रधानन्यायाधीशको शपथ दिलाएका हुन् ।
समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, मुख्य सचिव, सर्वोच्च अदालतका न्यायाधीशहरू, निजामती सेवाका वरिष्ठ पदाधिकारीहरूलगायतको उपस्थिति थियो ।
प्रधानन्यायाधीश शर्मा
हालसम्म अविवाहित रहेका प्रधानन्यायाधीश शर्मा कामु प्रधानन्यायाधीश छँदा रिक्त पदमा न्यायाधीशहरु नियुक्त गर्न नसकेकोे, अस्थायी न्यायाधीशहरुलाई स्थायी गर्न नसकेको, मुद्दाको पच्र्छयौटमा ढिलाइ गरेको भन्दै आलोचित पनि छन् ।
तत्कालिन मन्त्रिपरिषद अध्यक्ष एवम् प्रधानन्यायाधीश खिलराज रेग्मी विरुद्ध परेका रिट खारेज गरेको, न्यायालयप्रतिको आस्थालाई उँचो बनाउन नसकेको लगायतका आरोप पनि उनीमाथि लाग्ने गरेका छन् ।
२६ असोज २००६ मा जन्मिएका दामोदरप्रसाद शर्मा २०३० सालमा न्याय सेवामा प्रवेश गरेका हुन् । लण्डन विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गरेका उनी २०३२ सालमा ललितपुर जिल्ला अदालतमा सेवा गरेका थिए ।
महोत्तरी, धनुषा, सप्तरी, डडेल्धुरा, काठमाडौँ, पर्सा र बारामा जिल्ला न्यायाधीशको रुपमा काम गरेका शर्माले पुनरावेदन अदालत हेटाँैडा, जनकपुर, पोखरा, सुर्खेत, विराटनगर र पाटनमा न्यायाधीशको रुपमा सेवा गरेका थिए भने २०६१ सालमा पुनरावेदन अदालत राजविराजको मुख्य न्यायाधीश बनेका थिए ।
२०६२ सालमा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश बनेका उनी २०६४ सालमा सर्वोच्चको स्थायी न्यायाधीश बनेका हुन् ।
सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्षमा नियुक्त भएपछि शर्मा कायममुकायम प्रधानन्यायाधीश बनेका थिए ।
रेग्मीले गत २८ माघमा प्रधानन्यायाधीशबाट राजीनामा गरेका थिए ।
१७ चैतमा बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश गरेको थियो । परिषद्ले व्यवस्थापिका–संसद्को कार्यसञ्चालन नियमावली २०७० को प्रयोजनका लागि व्यवस्थापिका–संसद्, संसदीय सुनुवाई विशेष समितिमा पठाएको थियो ।
