समाचारआइतबार, चैत्र ३०, २०७०
छुट्टाछुट्टै दुर्घटनामा पाँचको मृत्यु
हेटौँडा–नारायणगढ सडकखण्डको सिम्पानीमा ट्रक र मोटरसाइकल ठोक्किंदामा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
जनकपुरबाट पोखरातर्फ जाँदै गरेको ना४ख ७७६५ नं.को ट्रकले विपरित दिशाबाट आउँदै गरेको गरेको मोटरसाइकललाई सिम्पानीमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै र मोटरसाइकल पछाडि बस्ने महिलाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुर पदमपोखरी–५ का ४३ वर्षीय श्यामबहादुर विक र हेटौँडा नगरपालिका–८ कमाने बस्ने २६ वर्षीया मोनिका थापा रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र त्यसका चालकलाई इलाका प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
कञ्चनपुरमा एकको मृत्यु
कञ्चनपुरको सुडा–१ का प्रदीपकुमार गौतमको २९ चैत राति सडक दुर्घटनामा मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भाँसीनजिक साइकलमा जाँदै गरेका ३८ वर्षीय प्रदीप गौतमलाई ट्र्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठक्कर दिने ट्र्याक्टरको पहिचान खुल्न सकेको छैन भने शवलाई महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा राखिएको छ ।
तलाउमा डुबेर युवकको मृत्यु
पौडी तालिम लिने क्रममा तलाउमा डुबेर दाङमा एक युवकको मृत्यु भएको छ ।
वन रक्षकका लागि पौडी तालिम लिने क्रममा रुकुम पेउघा–९ घर भई हाल घोराहीमा बस्दै आएका २७ वर्षीय भरत केसीको तलाउमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
लोकसेवा आयोगद्वारा सञ्चालित वन रक्षक पदको लिखित परीक्षामा नाम निकालेपछि प्रयोगात्मक अभ्यासका लागि पौडी सिक्न नारायणपुर गाविसको लरेना नहरको बाँधमा पौडी खेल्न गएका केसीको पौडी खेल्ने क्रममा शनिबार डुबेर मृत्यु भएको दाङका प्रहरी प्रमुख शरदकुमार खत्रीले जानकारी दिएका छन् ।
ट्र्याक्टरको स्टेरिङले च्यापिएर चालकको मृत्यु
उदयपुर जिल्लाको घुर्मी खोलाबाट बालुवा बोकेर आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ ।
पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार को २ त १३५३ नं का ट्र्याक्टर चालक सिरहा विष्णुपुर–९ बस्ने २५ वर्षीय सञ्जित कामतीको पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रअयोध्यापुर–९ स्थित उकालो चढने क्रममा दुर्घटना हुँदा स्टेरिङले च्यापिएर २९ चैत राति मृत्यु भएको हो ।
आगलागीबाट चार घर नष्ट
उदयपुरको तपेस्वरी–१ धाराखोलामा २९ चैत साँझ आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।
स्थानीय मित्रबहादुर तामाङको घरमा विद्युत् सर्ट भएपछि आगालागी शुरु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । तामाङको घरमा लागेको आगो सर्दै छिमेकी गङ्गाराम बास्तोला, भरत तामाङ र हरि बास्तोलाको घरमा समेत आगालागी भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
आगलागीबाट मित्रबहादुर तामाङको दुई सुँगुर र गङ्गाराम बास्तोलाका केही बाख्रा, खसीसमेत जलेर नष्ट भएको छ । यस्तै लत्ताकपडा र अन्नपात पनि नष्ट भएको बताइएको छ ।
रासस
