थप समाचारआइतबार, चैत्र ३०, २०७०
रुस समर्थकद्वारा प्रहरी मुख्यालय कब्जा
सैनिकको पोशाकमा आएका रुस समर्थक हतियारधारीहरुले स्थनीय प्रहरीसँगको गोली हानाहान पछि पूर्वी युक्रेनको क्र्यामाट्रोस्क शहरको प्रहरी मुख्यालय कब्जामा लिएका छन्।
उक्त भिडन्तमा कुनै मानविय क्षति नभएको र कब्जा गरिएको मुख्यालयमा डोनेस्क गणतन्त्रको झन्डा फहराइएको छ।
पूर्वी युक्रेनमा रुस समर्थीत प्रदर्शनकारीहरुले प्रहरी तथा सुरक्षा निकायका भवन कब्जामा लिन थालेपछी अमेरिकी विदेशमन्त्री जन केरीले आफ्ना रुसी समकक्षीलाई टेलीफोन गरी चिन्ता व्यक्त गरेका छन्।
कब्जा
क्रयामाट्रोस्कको एउटा वेभसाइटका अनुसार दुइ वटा बसमा आएका आक्रमणकारीहरुले कयौं मिनेट चलेको गोली हानाहानपछि प्रहरी मुख्यालय नियन्त्रणमा लिएका थिए।
अत्याधुनिक बन्दुक, सैनिक पोशाक र मास्क लगाएका हमलाकारीहरुले आफूलाई जनताका सिपाहीको रुपमा चिनाउँदै स्थानीयवासीलाई सम्बोधन गरेका थिए।
सम्बोधनका क्रममा उनीहरुले भनेका थिए, “हामी युक्रेनी सैनिकहरु होइनौ, हामी जनताका सिपाही हौ र किएभको भ्रष्टाचारी प्रहरीलाई लखेट्न आएका हौं।”
एउटा स्थानीय टेलिभिजनले नजिकैको चोकमा जम्मा भएर स्थानिय वासिन्दाले कब्जा भएको प्रहरी मुख्यालय हेरिरहेको दृश्य प्रसारण गरेको थियो।
यसअघि आक्रमणकारीहरुले पूर्वी शहर स्लोभियानस्क स्थित प्रहरी तथा सुरक्षा निकायका भवनहरुमा कब्जा जमाएका थिए।
किएभको चेतावनीका बाबजुद कयौं शहरहरुमा सरकारी भवन र प्रहरी चौकिहरु शनिबार कब्जा गरिएका थिए।
चिन्ता
अमेरिकाले रुसको सहयतामा पूर्वी युक्रेनमा पृथकतावादीहरुले योजनाबद्ध रुपमा हिंसालाई बढावा दिइरहेको भन्दै तनाव कम गर्न भूमीका खेल्न वा थप मुल्य चुकाउन मस्कोलाई चेतावनी दिएको छ।
कयौं प्रहरी चौकीहरु कब्जामा परेपछी, अमेरिकी विदेशमन्त्री केरीले रुसी विदेशमन्त्री सर्गेइ लाव्रोवसँग टेलिफोनमा कुराकानी गर्दै त्यस्तो चेतावनी दिएका हुन्।
उनले आक्रमणकारीहरुले रुसी हतियार प्रयोग गरेको भन्दै रुसकै साथ सहयोगमा हमलाहरु गरीएको आरोप लगाए।
रुसी विदेशमन्त्रीले आफ्नो देशको अवस्था सम्हाल्न युक्रेन सरकार असफल भएको धारणा राखेका थिए।
रुसले पूर्वी युक्रेनका रुसी भाषिमाथी बल प्रयोग गरीए कुटनीतिक ढंगबाट युक्रेन संकट समाधान गर्ने प्रयासमा ठेस लाग्ने चेतावनि दिदैँ आएको छ।
यसै हप्ता अमेरिका, रुस, युक्रेन र युरोपेली संघका प्रतिनिधिहरु जिनेभामा युक्रेनको बारेमा छलफल गर्ने कार्यक्रम तय भएको छ।
अमेरिकी उपराष्ट्रपति जो बाइडनले युक्रेनी सरकारी अधिकारीसँग छलफल गर्न यसै महिनाको अन्त्यमा किएभको भ्रमण गर्ने जनाइएको छ।
बीबीसीबाट साभार
