थप समाचारआइतबार, चैत्र ३०, २०७०
इन्जिनियरिङका विद्यार्थी सुन्दरीजलमा मृत फेला
ललितपुरको हिमालय कलेजमा अध्ययनरत तम्घास, पुतलीबजारका १९ वर्षीय विराट भुसाल राजधानीको सुन्दरीजलमा मृत फेला परेका हुन् । उनी ११ दिनदेखि बेपत्ता थिए ।
२८ चैतमा स्थानीयले पानीको ड्यामभित्र शव देखेर प्रहरीलाई खबर गरेपछि सडिसकेको अवस्थामा निकालिएको शवसँगै भएको परिचयपत्रका आधारमा प्रहरीले उनको पहिचान गरेको हो । छोरा मृत भेटिएपछि व्यवसायी बाबु हरि र आमा सरस्वती विक्षिप्तजस्तै भएका छन् ।
अनुशासित र पढ्नमा अब्बल युवकको निधनले उनका छिमेकीहरु र व्यवसायी समेत शोकमा छन् ।
बुद्धनगरस्थित प्रिटोरिया होस्टेलमा बसेर पढ्दै आएका विराट १८ चैतदेखि सम्पर्कविहीन थिए ।
होस्टेलबाट साथीकोमा पढ्न जान्छु भनेर तीन दिनका लागि बिदा लिएको भन्ने होस्टेल सञ्चालकले बताए पनि होस्टेलमा १२ गतेदेखि नै कुनै हाजिरी नदेखिएको तर होस्टेलले २४ गते मात्र विराट होस्टेलमा नआएको परिवारलाई जानकारी गराएको उनका आफन्तले बताएका छन् ।
प्रहरीले विराटको हत्या हो वा आत्महत्या भन्ने विषयमा शुक्रबारदेखि अनुसन्धान सुरु गरेको छ ।
रासस
