समाचारआइतबार, चैत्र ३०, २०७०
सभापति सर्वसम्मतीले चयन गर्ने कार्यविधि स्वीकृत
सिंहदरबारस्थित संविधानसभा सचिवालयमा ३० चैतमा बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकले सर्वसम्मतीमा सभापतिको चयन गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
समितिको अघिल्लो बैठकले सभापति चयनका लागि ३० चैतको मिति तोकेकोमा प्रमुख दलहरूबीच सहमति कायम हुन नसक्दा निर्वाचन मिति ५ बैशाखमा सरेको छ ।
आजै विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन प्रमुख दलहरुको बैठकमा समितिको सभापति चयनको विषयमा सहमति हुन सकेको थिएन । कांग्रेस र एमाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सभापति बनाउन सहमत भए पनि दाहालले बाबुराम भट्टराईलाई सभापति बनाउनुपर्ने भनेपछि सहमति हुन नसकेको हो ।
आजको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले सहमतिका आधारमा सभापतिको चयन गरिनुपर्ने धारणा राख्दै त्यसका लागि सबै राजनीतिक दलहरूसँग वार्ता र संवाद गर्न आवश्यक रहेको सुझाव दिएका थिए ।
