थप समाचारसोमबार, बैशाख १, २०७१
बदलियो नेपाल, फेरिए नेपाली

सबैका ढाडमा ब्याकप्याक: आधुनिक पहिरन र ब्याकप्याक सहित राजधानीको सडकमा विमल पछाइ, सवि महर्जन, रोशन योञ्जन र श्वेता श्रेष्ठ । तस्वीर: बिक्रम राई
पछिल्लो अढाइ दशक अभूतपूर्व राजनीतिक परिवर्तन देखे/भोगेका नेपालीको लवाइ—खवाइ, बसाइ—हिंडाइ, किनाइ—उपभोग गराइ, मनोरञ्जनको तरिका र सोचाइमा पनि त्यस्तै परिवर्तन आएका छन् ।
सडक तथा हवाई यातायात र संचारको विकासले पहिलेको ‘विशाल नेपाल’ केही घन्टामा छिचोल्न र केही मिनेटमा खबर आदानप्रदान गर्न सकिने बनेको छ ।
गाउँहरू विस्तारै साना बजार, साना बजारहरू साना शहर र साना शहरहरु महानगरमा परिणत हुँदैछन् ।
सबै प्रकारका भौतिक परिवर्तनले नेपालीको सोच्ने, बोल्ने, हिंड्ने लगायत सबै क्षेत्रमा आमूल परिवर्तन ल्याएका छन् ।
यस्ता परिवर्तनले काठमाडौं सहित ठूला शहरमा बस्ने मात्र नभएर साना बजार र गाउँमा बस्ने युवालाई पनि विकसित देशका युवाले जस्तै सपना देख्न सक्ने बनाएको छ ।
विद्यालय शिक्षापछि विदेशका राम्रा कलेज र विश्वविद्यालय पढ्ने अनि अन्तर्राष्ट्रिय जागीर खाएर सम्पन्न जीवन बाँच्ने सपना देख्ने युवाहरूको संख्या बढ्दैछ ।
यसले आउँदो नेपाली पुस्ता अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बन्दै गरेको देखाउँछ ।
आश्चर्यजनक परिवर्तन
चप्पलको साटो जुत्ता, टोपी र दौरा–सुरुवालको साटो प्यान्ट सर्ट लगाउने र काँधमा रेडियोको साटो हातमा मोबाइल बोक्ने अहिलेका नेपालीका भाषा पनि पहिले जस्तो छैन ।
युवाहरू अंग्रेजी मिसिएको नेपालीमा कुरा गर्न थालेका छन् भने अरू उमेर समूहका पनि पहिले जस्तो आञ्चलिकतामा आधारित नभएर रेडियो र टेलिभिजनको जस्तो भाषा प्र्र्रयोग गर्न थालेका छन् ।
गाउँ–गाउँसम्म पुगेको सडकमा सार्वजनिक सवारी साधनहरु उपलब्ध भएपनि मोटरसाइकलमा हुइकिन रुचाउने युवा उल्लेख्य छन् ।
हत्तपत्त गाउँ नछाड्ने नेपालीलाई सार्वजनिक र निजी सवारी साधनको वृद्धि, अनेकौं क्षेत्रमा बढेको अवसर र कामले कहिले पूर्व त कहिले पश्चिम पु¥याउन थालेको छ ।
ब्याङ्क, वित्तीय संस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय संघ–संस्था र वैदेशिक रोजगारीका कारण कमाइ बढेकाले किनमेल, खानपिन, बसाइ लगायतका क्रियाकलापमा उल्लेखनीय परिवर्तन आएको छ ।
नयाँ कपडा लगाउन दशैं जस्ता ठुला चाड पर्खनुपर्ने अवस्थाको अन्त्य भईसकेको छ ।
दुई छाकले चित्त बुझउनुपर्ने अवस्था पार गरेका नेपालीको ठूलो संख्या अहिले दिनमा चार पटक खान थालेका छन् ।
बसाइको स्तरोन्नति भएर पक्की वा कच्ची जे भएपनि कोठामा बस्ने भएका छन् ।
यस्ता परिवर्तनसंगै नेपालीहरुको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ । सरदर आयु निकै बढेको छ, मातृ र बाल मृत्युदर घटेको छ ।
दुई दशकअघिसम्म ५० वर्ष नपुग्दै बूढो भएको ठान्ने नेपाली अहिले त्यो उमेरमा पनि युवा महसूस गर्ने भएका छन् ।
पहिलेभन्दा औसत उचाइ बढेको छ भने अनुहारमा पनि चमक आएको छ ।
मानसिक परिवर्तन
घर बाहिर निस्किएर महिला बोल्दा पोथी बासेको भन्ने नेपाली समाजमा अहिले राजनीति, सामाजिक संघ–संस्था, जागीर र व्यापारमा लागेर सफल हुने महिलाको संख्या हजारौं छ ।
जयस्थिति मल्लले लागू गरेको हिन्दु वर्णाश्रममा आधारित जातीय उँच–नीच घटेर सबै समुदायका मानिस कुम जोडेर हिड्ने भएका छन् ।
लिंग, समुदाय, वर्ग वा क्षेत्रजनित हीनता उल्लेखनीय रूपले घटेको छ ।
खेती उँभो, जागीर तेर्साे र व्यापार उँधो भनेर खेतीलाई उत्तम, जागीरलाई मध्यम तथा व्यापारलाई अधम मान्ने नेपाली समाज परिवर्तन भएर बन्दव्यापारले महत्व पाउन थालेको छ ।
जागीर त्यस्तै आकर्षक पेशा बनेको छ भने निर्वाहमुखी परम्परागत कृषिमा पनि धमाधम यान्त्रीकरण हुन थालेको छ ।
पछिल्लो समय व्यावसायिक कृषि शुरू भएर युवा पुस्ता पनि त्यता फर्कन थालेका छ ।
पेशा—व्यवसाय सम्बन्धी सोचमा आएको बद्लावले समाजको आधारभूत चरित्रमै परिवर्तन ल्याएको छ ।
राष्ट्रिय आयमा कृषिको योगदान घटेको छ भने सेवा—व्यवसायको योगदान त्यही मात्रामा बढेको छ ।
यो यस्तो महत्वपूर्ण समय हो, जसले नेपाललाई सामन्ती समाजबाट पूँजीवादतर्फ हिडाएको, औद्योगिकीकरणको आधार तयार पारेको र समृद्धिको मार्ग पहिल्याएको छ । यसरी नेपाल बदलिदा नेपालीहरु स्वतः फेरिएका छन् ।
साप्ताहिक हिमाल खबरपत्रिकाको नयाँ वर्ष अंकमा प्रकाशित आवरण कथाको अंश
