समाचारसोमबार, बैशाख १, २०७१
मुख्य सचिवले वाग्मतीमा नुहाए
वाग्मती नदी सफाइ अभियान सुरु गरेको एक वर्ष पुगेका अवसरमा १ वैशाखमा मुख्यसचिव लीलामणि पौड्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिष्द कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा, सहरी विकास मन्त्रालयका सचिव किशोर थापालगायत अधिकारीले गुह्येश्वरी घाटमा स्नान गरेका हुन् । नदी सफा भएको भन्ने सन्देश दिनका लागि आयोजित कार्यक्रममा सफाइ अभियानमा निरन्तर लागेका एक सयभन्दा बढीको सहभागिता थियो ।
नुहाउने कार्यक्रम गुह्येश्वरी घाटमा आयोजना गरिएको थियो । स्नान गर्नुअघि मुख्यसचिव पौड्यालले वाग्मती नदी सफाइमा निरन्तर लाग्ने प्रतिबद्धतासहितको शपथ खुवाएका थिए । नदीको पानी तुलनात्मक रुपमा सफा भएको र सफाइ अभियान क्रमशः सफलताको दिशामा अगाडि बढेकाले सो कार्यक्रमको आयोजना गरिएको सचिव बाँस्कोटाले जानकारी दिए ।
सफाइ अभियानलाई निरन्तर रुपमा नेतृत्व गर्दै आउनुभएका मुख्यसचिव पौड्यालले केही समय पहिले नयाँ वर्षको दिन आफू वाग्मती नदीमा पस्ने बताउनुभएको थियो । स्वयम्सेवाको अभियानका रुपमा सुरु गरिएको वाग्मती सफाइमा दिन प्रतिदिन नागरिक सहभागिता बढ्दै गएको अवस्थामा पछिल्लो दिनमा उल्लेख्य सुधार आएको छ ।
नागरिकमा स्वयम्सेवाको भावना जगाउन सकिएको र ‘नदी सफाइ जीवनको सफाइ’ हो भन्ने मान्यता स्थापित भएको मुख्यसचिव पौड्यालको भनाइ छ । नुहाउनका लागि गुह्येश्वरी घाटमा दुवैतर्फ नदीमा बालुवाको बोरा राखिएको थियो । मुख्यसचिव पौड्यालसहितको उच्च सरकारी टोली बिनाहिच्किचाहट नदीमा पसेको थियो ।
वाग्मतीलाई नुहाउनयोग्य बनाउनका लागि नदीमा मिसाइएको ढल तथा मलमूत्रको उचित व्यवस्थापन गरिएको छ । ढल व्यवस्थापनका लागि नदीको दायाँबायाँ दुवै किनारमा ठूलाठूला ह्युमपाइप राखिएको छ । सोका कारण नदीमा मलमूत्र मिसिन पाएको छैन ।
करिब २५ वर्ष पहिले वाग्मतीको पानी पिउन र नुहाउनयोग्य थियो । मानव अतिक्रमण र बढ्दो सहरीकरणका कारण प्रदूषण बढ्दै गएपछि काठमाडौँ उपत्यकाका अधिकांश नदी मृतप्रायः भएका थिए । पछिल्लो दिनमा सफाइ अभियान अगाडि बढेपछि नदीमा फोहरमैला फाल्ने क्रम पनि कम हुँदै गएको छ ।
२०७० वैशाख पहिलो हप्तादेखि सुरु भएको अभियानले एक वर्ष पूरा गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको छ । आगामी दिनमा अझ प्रभावकारी रुपमा सफाइ गरिने प्रतिबद्धता सो अवसरमा जनाइएको सचिव बाँस्कोटाको भनाइ छ ।रासस
