समाचारमंगलबार, बैशाख २, २०७१
एमाओवादीले देशभर प्रदर्शन गर्ने, हत्या आरोपीलाई रिहाईको माग
२ बैशाख बिहान बसेको एमाओवादी पार्टी पदाधिकारीको वैठकले कृष्णप्रसाद अधिकारी हत्या अभियोगमा पक्राउ परेकाहरुको रिहाई र मुद्दा समेत फिर्ता लिन माग गर्दै देशभर प्रदर्शन र कोणसभा गर्ने निर्णय गरेको छ ।
एमाओवादी मुख्यालयमा बसेको वैठकले २ बैशाखमा चितवनमा कोणसभा गर्ने , ३ बैशाखमा गोरखामा विरोध प्रदर्शन गर्ने र ४ बैशाखमा देशभर विरोध प्रदर्शनसहित कोणसभा गर्ने समेत निर्णय गरेको छ ।
कृष्णप्रसाद अधिकारीको हत्या द्वन्द्वकालमा भएको भन्दै उक्त घटनालाई सत्यनिरुपण तथा मेलमिलाप आयोग बनेपछि अनुसन्धान गरिनुपर्ने एमाओवादीको जिकिर छ ।
पक्राउ परेकाहरु रिहाई नभएसम्म सरकार र तीन दलसँग छलफल समेत नगर्ने यसअघि नै एमाओवादीले जनाइसकेको छ ।
चितवन प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिलको कार्यालय चितवनले जिल्ला अदालतमा १३ जनाविरुद्ध सर्वस्वसहित जन्मकैदको माग राख्दै ३० बैशाखमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दाको थुनछेक बारेको बहस आज हुँदैछ ।
