समाचारबुधबार, बैशाख ३, २०७१
पार्टी जोगाउन अध्यक्षमा उठदैछुः नेता नेपाल
पार्टीभित्र ‘डनवादी प्रवृत्ति’ हावी भएको र त्यसबाट भन्दै एमाले बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई जोगाउन अध्यक्षमा अघि सार्नुपरेको बताएका छन् ।
“पार्टी बचाउन र क्रान्तिकारी बाटो स्थापीत गर्न म अध्यक्षमा उठ्न लागेको हुँ,” राजधानीमा केही पत्रकारहरुसँग २ बैशाखमा कुरा गर्दै नेता नेपालले भने, “यो मेरो पार्टीभित्रको अराजक चिन्तनविरुद्घको लडाई पनि हो ।”
आसन्न नवौं महाधिवेशनमा अध्यक्षका अर्का आकांक्षी केपी ओलीतर्फ संकेत गर्दै नेपालले उनको हातमा नेतृत्व पुगे एमाले समाप्तीको दिशातर्फ जाने दाबी गरे ।
महाधिवेशन घोषणापछि केही जिल्लाको भ्रमणसमेत गरिसकेका नेपालले आफूलाई कार्यकर्ताले पार्टी नेतृत्व लिन आग्रह गरेको समेत उल्लेख गरे ।
पार्टीको नेतृत्व गर्ने क्षमता विचार, सक्रियता, जुझारुपनलगायतले मापन हुने उनले बताए । “हवाईजहाजबाट ओर्लदा अघि पछि लाग्ने मोटरसाईकल कति छन्, त्यसको आधारमा पार्टीको नेतृत्व लागि योग्य भइदैन ।
यसरी पार्टी चल्दा पनि चल्दैन,” नेता नेपालले व्यंगात्मक शैलीमा भने, “पार्टीलाई गतिशील र क्रियाशील बनाउने मेरो अभियान हो ।”
उनले केपी ओली र वामदेव गौतमतर्फ लक्षित गर्दै उनीहरुलाई पार्टीभित्र गुटबन्दी हावी गराउने नेताका रुपमा चित्रण गरे । गुटको मानसिकतामात्र बोक्ने नेताले पार्टीका सबै कार्यकर्तालाई न्याय गर्न नसक्ने उनको भनाई छ ।
आफू एक कार्यकालमात्र पार्टीको प्रमुख भएर चलाएको उल्लेख गर्दै अहिले प्रणाली फेरिएकाले अध्यक्षमा उठ्ने कुरा स्वाभाविक भएको नेपालको भनाई छ । “पहिले महासचिव प्रणाली हुँदा त्यो पनि सातौ महाधिवेशनपछि एक कार्यकालमात्र म प्रमुख भएको हुँ। तर अहिले पार्टी अध्यक्षात्मक प्रणालीमा गएको छ,” नेता नेपालले भने, “के प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपति हुन पाउँदैन भन्ने हुन्छ ? त्यस्तै कुरा हो यो पनि ।”
२०५० सालमा मदन भण्डारीको निधनपछि नेपाल एमालेको महासचिव बनेका थिए । मनमोहन अधिकारीको निधनपछि एमाले ०५९ सालको सातौ महाधिवेशनबाट महासचिव प्रणालीमा गएको थियो । त्यसपछि मात्र पूर्ण रुपमा आफू एक कार्यकाल पार्टीको प्रमुख भएको नेपालको जिकिर छ । आफ्नै नेतृत्वमा मुलुकमा राजनीतिक रुपान्तरण भएकाले अब आर्थिक रुपान्तरणका लागि पनि आफैले नेतृत्व गर्ने नेपालले बताए ।
गंगा बीसी, कान्तिपुर दैनिकबाट साभार
